चैत १५, २०८० बिहिबार

वीरगञ्ज (पर्सा), १५ चैतः पर्साको वीरगञ्जस्थित भारतीय सीमानाकामा नवनिर्मित होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरणको विषय टुङ्गो नलाग्दा होल्डिङ सेन्टर अलपत्र परेको छ ।

    कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निर्माण गरिएको होल्डिङ सेन्टर भवन स्वामित्व हस्तान्तरण अन्योल हुँदा भवन अलपत्र परेको हो । 

    सरकारले विसं २०७८ वैशाख ५ गते मन्त्रिपरिषद्को निर्णय अनुरुप नेपाली सेनाले करिब रु २८ करोडको लागतमा १३ भान्साघर, २२ शौचालय, सामान्य लक्षण भएकाका लागि नौ सय शय्या र जटिल अवस्थाका बिरामीका लागि एक सय शय्या तथा तीन वातानूकुलितसहितका भिआइपी कक्ष निर्माण गरेको सो होल्डिङ सेन्टरलाई सेनाको टोलीले सुरक्षा दिइरहेको छ ।

    निर्माणकार्य सम्पन्न भएको लामो समयसम्म पनि होल्डिङ सेन्टरको स्वामित्व हस्तान्तरण हुनसकेको छैन । “होल्डिङ सेन्टरको स्वामित्व कसले लिने भन्ने अझै निश्चित हुनसकेको छैन”, वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिलकुमार यादवले भन्नुभयो, “स्वामित्वको निश्चित नहुँदा होल्डिङ सेन्टरमा बिजुली र खानेपानी जडान हुनसकेको छैन ।” होल्डिङ सेन्टरमा तत्काल बिजुली र खानेपानीको जडान गर्न पहल गरिए पनि स्वामित्वको निश्चित नहँुदा त्यो सम्भव हुन नसकेको उहाँको भनाइ छ । 

होल्डिङ सेन्टरको स्वामित्व सङ्घीय, प्रदेश वा स्थानीय सरकार कसको हुने अझै निश्चित नभएकाले समस्या भएको स्वास्थ्य शाखा संयोजक यादवले बताउनुभयो । भौतिक पूर्वाधार पूर्ण रूपमा तयार भए पनि यसलाई नियमित सञ्चालनका लागि स्वामित्व हस्तान्तरण र बजेटको अभाव रहेको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले बताउनुभयो । 

“हामीले महानगरपालिकालाई स्वामित्वका लागि पत्राचार गर्यौँ, तर महानगरपालिकाले बजेट अभावका कारण स्वामित्व लिएर सञ्चालन गर्न नसकिने भनेर जवाफ दियो”, प्रजिअ भुषालले भन्नुभयो, “त्यसपछि मधेस प्रदेश सरकार र स्वास्थ्य विभागलाई समेत पत्राचार गर्यौँ, तर अहिलेसम्म कुनै जवाफ आउन सकेको छैन ।”

होल्डिङ सेन्टर सञ्चालनका लागि जिल्लाका सबै संयन्त्र तयार भए पनि स्वामित्व हस्तान्तरण र बजेटको समस्या भएको प्रजिअ भुषालको कथन छ । “विद्युत् प्राधिकरण र खानेपानीका प्रमुखलाई बोलाएर होल्डिङ सेन्टरमा बिजुली र खानेपानी जडान गरिदिन आग्रह गरे, तर उहाँहरूले स्वामित्वको निश्चित नहुँदासम्म बिजुली र धारा जडान गर्न सकिँदैन भनेर जवाफ दिनुभयो”, प्रजिअ भुषालले भन्नुभयो, “त्यसैले अहिले होल्डिङ सेन्टर अलपत्र अवस्थामा छाड्नुपरेको छ ।”

यसैबीच भारतीय सीमा क्षेत्रमा महानगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा खटिएका ल्याब टेक्निसियन निशा साहले भारतबाट आवतजावत गर्ने करिब दुुई सयदेखि तीन सय जना विदेशीको दैनिक रूपमा कोरोना जाँच गरिरहेको बताउनुभयो ।

होल्डिङ सेन्टर सञ्चालन नहुँदा जाँचका क्रममा कोरोना पोजेटिभ देखिएका बिरामीलाई होम क्वारेन्टिनमा बस्न सुझाव दिँदै घर पठाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।