कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र काँग्रेस नेता जीवनबहादुर शाहीको टोली चीन र नेपालको सिमाना लाप्चातर्फ लाग्नुभएको छ । दुई घण्टा लामो समय लिएर मुख्यमन्त्रीको टोली नेपाल र चीनको सीमा स्तम्भको अनुगमनका लागि त्यसतर्फ हेलिकप्टरमा लाग्नु भएको छ ।
शनिबार मौसममा सुधार आउँदा मुख्यमन्त्री शाहीको टोली सीमा स्तम्भहरुको अनुगमनका लागि लाप्चातर्फ लागेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताउनुभयो । लाप्चामा रहेको १२ नम्बर सीमा स्तम्भको टोलीले अनुगमन गर्ने र त्यतैबाट मौसमले साथ लिए नेपाली भूमिबाट मानसरोवर कैलाशको दर्शन पनि गर्नेछ । त्यसैगरी, टोलीले लाप्चाबाट हिल्साको पनि यात्रा गर्ने भएको छ । सो क्षेत्रमा रहेको सीमा स्तम्भहरुको पनि अवलोकन गर्ने जनाइएको छ । लिमीको लाप्चा र हिल्सामा टोलीले करिब दुई घण्टाको अवलोकन गर्ने जनाइएको छ । हिल्सामा रहेका सीमा स्तम्भहरुको पनि टोलीले अनुगमन गर्नेछ । टोलीमा मुख्यमन्त्री शाही, नेता शाही, कर्णाली प्रदेश सरकारका पूर्वमन्त्री विमला केसी र हुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईको सहभागिता रहेको छ । मुख्यमन्त्रीको टोली शुक्रबार बेलुका सिमकोट पुगेको थियो ।