साताको सुरुवाती कारोबार दिन नै नेप्सेमा हरियाली छाएको छ । आज आइतबार नेप्से ७३ दशमलव ३३ अंकले बढेर २८ सय ९८ दशमलव ४३ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ५१ अंकले बढेर पाँच सय ४३ दशमलव १६ अंकमा पुगेको छ ।
दुई सय २५ वटा कम्पनीहरुको ८२ हजार ४९ पटकको कारोबारमा तीन करोड १५ लाख ८८ हजार आठ सय ५० कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम आठ अर्ब छ करोड १३ लाख ८२ हजार चार सय ९६ रुपैयाँ पुगेको छ ।
१३वटा समूहको कारोबार भएकामा १३ वटै समूहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ४४ दशमलव ७७ अंकले बढेर १९ सय ७२ दशमलव २० अंकमा चढेको छ भने विकास बैंक समूहको सूचक एकै दिन तीन सय ५५ दशमलव २२ अंकले बढेर चार हजार छ सय ६७ दशमलव १३ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि तीन सय ५५ दशमलव २६ अंकले बढेर १४ हजार दुई सय ५४ दशमलव ६३ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि चार सय ९८ दसमलव दुई अंकले बढेर १७ हजार चार सय २५ दशमलव ११ अंकमा चढेको छ । यीबाहेक जलविद्युत, टे«डिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।
आज श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ५१ रुपैयाँमा कारोबार हुँदा राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयरको मूल्य चार दशमलव ३७ प्रतिशतले घटेर १८ हजार रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज एनआईसी एशिया बैंकको प्रतिकित्ता नौ सय ६४ रुपैयाँ अन्तिम मूल्यमा ३९ करोड ९३ लाख ६० हजार नौ सय ५५ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।