प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका सहकुल बहादुर थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
थापालाई मन्त्रिमपरिषद्को २०७८ असार २४ गतेको निर्णयअनुसार असार २१ गतेबाट लागू हुनेगरी पदोन्नति गरेको थियो ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई बधाई दिँदै पदोन्नतिसँगै बढेको दायित्व र जिम्मेवारीलाई प्रतिबद्वता अनुरूप नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए। संगठनको थप सुदृढिकरण र विकासका लागि व्यावसायिकता र पेशागत धर्ममा रही हरेक कार्यलाई सहजरूपमा लिदै स्वमूल्याङ्कन गरी पूर्ण निष्ठाका साथ अगाडि बढ्नुपर्ने उनले बताए । पदन्नोतिमा परिवारको पनि साथ सहयोग हुने भएकोले आफ्नो प्रगतिलाई परिवारमा समर्पण गर्नुपर्ने उनले उल्लेख गरे।
समारोहमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल सरकार एवम् प्रहरी संगठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ संगठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। आफू बोलाई भन्दा गराईमा विश्वास गर्ने भएकाले आफ्नो बुद्धि, विवेक र ईमानदारिताका साथ संगठनको श्रीवृद्धिमा लाग्ने उनले उल्लेख गरे।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानको उपस्थिति रहेको थियो ।