बैशाख ४, २०८१ मंगलबार

काठमाडौँ– १४औँ संस्करणको जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ ।

गएराति सिमरा रंगशालामा भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै पुलिसले उपाधि जितेको हो ।

खेलको निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समयमा दुवै पक्षबाट कुनै गोल नएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

पेलाल्टी सुटआउटमा पुलिसका रामचन्द्र वाजी, पुजन राई, सुजन मगर र आशिष राईले गोल गरेका थिए भने मच्छिन्द्रका विशाल तामाङ, दिवाकर चौधरी र सनिस श्रेष्ठले मात्र गोल गरे । मच्छिन्द्रका सौरभ लिम्बू र चन्दन दास गोल गर्नबाट चुकेका थिए ।

नव जनजागृती युवा क्लबले आयोजना गरेको प्रतियोगितामा विजेता बनेको पुलिसले ट्रफीसहित १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको मच्छिन्द्र क्लबले ५ लाख रुपैयाँ प्राप्त पाएको छ ।

यस्तै, फाइनल खेलमा पुलिसका अमित टमाटा प्लेयर अफ दी म्याच र सन्जित श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए ।