फागुन २०, २०७७ बिहिबार

एजेन्सी

एजेन्सी : स्पेनिस कोपा डेल रे नकआउटका फुटबल प्रतियोगिताको सर्वाधिक ३० पटकको विजेता टोली बार्सिलोनाले फाइनलमा स्थान सुरक्षित गरेको छ । 

बिहिवार बिहान सम्पन्न सेमिफाइनलको दोस्रो लेगको खेलमा पाहुना टोली सेभिल्लामाथि ३-० गोलको पुनरागमन जित निकाल्दै बार्सिलोना फाइनलमा पुगेको हो ।

बार्सिलोनाको मैदान क्याप नोउमा पुनरागमन जित निकालेसँगै समग्रमा ३-२ गोलको नतिजा निकाल्दै कोपा डेल रेको फाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा सेभिल्लाले आफ्नो मैदानमा बार्सिलोनालाई २-० गोलले हराएको थियो ।

घरेलुु टोली बार्सिलोनाको जितमा ओस्मान डेम्बेले, जेरार्ड पिके र मार्टिन ब्रथेवेटले समान १-१ गोल गरे । खेलको १२औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलकाे ७३औँ मिनेटमा सेभिल्लाले पेनाल्टीको माैका पाएकाे थियो, तर लुकास ओक्याम्पसकाे उक्त प्रहार मिस भएपछि खेलमा बराबरीमा फर्किने अवसर सेभिल्लाले खेर फालेकाे थियो ।

त्यस्तै खेलको इन्ज्युरी समयमा फेर्नान्डोले रातो कार्ड पाएपछि सेभिल्ला १० खेलाडीमा सीमित बन्न पुगेको थियो । त्यसको दुई मिनेट नबित्दै पिकेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

पिकेको गोलपछि समग्रमा २-२ को बराबरी भएका कारण खेल अतिरिक्त समयमा धकेलियो । त्यसपछि ९५औँ ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई ३-० गोलको र समग्रमा ३-२ गोलको अग्रता दिलाए ।

खेलको १०३औँ मिनेटमा लुक डी योङले रातो कार्ड पाएपछि सेभिल्ला नौ खेलाडीमा सीमित भएको थियो । र, बाँकी समय थप गोल नहुँदा बार्सिलोनाले सेभिल्लामाथि नाटकीय पुनरागमन गर्दै फाइनलमा स्थान बनायो ।