बैशाख ६, २०८१ बिहिबार

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

नादियाद नजिकै तीव्र गतिमा रहेको कार रोकिराखेको तेल ट्याङ्करमा ठोक्किएर दुर्घटना भएको थियो । प्राविधिक गडबडीका कारण ट्यांकर राजमार्गको छेउमा रोकिराखिएको अवस्थामा कार ठोक्किएको थियो । कार बडोदराबाट अहमदाबाद जाँदै थियो ।

कारमा १० जना सवार रहेका थिए । जसमा ८ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ८ पुरुष, एक महिला र एक बालक रहेका छन् । दुर्घटनाको खबर पाए लगत्तै दुईवटा एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । यससँगै राजमार्गको उद्धार टोली पनि घटनास्थलमा पुगेको थियो ।

दुर्घटनामा परेकाहरूको शव निकाल्न गाडीको पाता काट्नु परेको थियो । प्रहरीले दुर्घटनाको अनुसन्धान गर्न विशेष टोली गठन गरेको छ ।