असार २८, २०७८ सोमबार

होऊ यान्छी

नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले 'बीआरआई' को निर्माणमा नेपाल एक महत्त्वपूर्ण साझेदार रहेको बताएकी छिन् । सोमबार चिनियाँ दूतावासले आयोजना गरेको अनलाइन पत्रकार सम्मेलनमा राजदूत यान्छीले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभमार्फत नेपालका महत्त्वपूर्ण विकास परियोजनाहरूमा चीनले सहायता गरिरहेको बताएकी हुन् ।

उक्त पत्रकार सम्मेलनमा मन्तव्य राख्दै राजदूत यान्छीले अन्तर हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्कले पनि बिस्तारै आकार लिन थालेको बताइन् । विभिन्न क्षेत्रमा चीन–नेपाल द्विपक्षीय सहयोगले सकारात्मक प्रगति हाँसिल गरेको बताउँदै राजदूत यान्छीले चीनको सहायतामा काठमाडौँमा दरबार हाइस्कुल पुनर्निर्माण परियोजना सम्पन्न भई हस्तान्तरण भएको बताइन् । त्यस्तै टोखा–छहरे सुरुङ मार्ग आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको छ र पोखरा अन्तरराष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य राम्रोसँग अघि बढेको राजदूत यान्छीले बताइन् । त्यस्तै चीनको सहायतामा अरनिको राजमार्गको दीर्घकालीन उद्घाटन एवं मर्मत परियोजनाको तेस्रो चरणको निर्माण कार्य सुरु भएको उनले जानकारी दिइन् ।

चीनले कठिनाइहरूको सामना गर्दा नेपाल लगायतका विकासशील देशहरूले पनि चीनका पक्षमा बोलेर सहयोग पुर्‍याएको उनले बताइन् ।