बैशाख ८, २०८१ शनिबार

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगबाट सहमति प्राप्त भए बमोजिम कम्पनीको कर्मचारी विनियमावली, २०७८ (संशोधन समेत) बमोजिम खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागिएको हो ।

 योग्यता पुगेका, विनियम १७ बमोजिम अयोग्य नभएका तथा लोक सेवा आयोगबाट सञ्चालित परीक्षामा अनियमितता गरेको सम्बन्धमा यसअघि निश्चित अवधिसम्म आयोगद्वारा सञ्चालित कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाहीमा नपरेका इच्छुक नेपाली नागरिकहरूबाट आनलाइन दरखास्त आह्वान गरिएको छ ।

आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, दस्तखतको नमुना, आफूले हासिल गरेको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्रहरू, तालिम, अनुभव, परिषद् दर्ता प्रमाणपत्र, समावेशिताको प्रमाणपत्र, समकक्षता निर्धारण पत्रहरू अनलाइन फारामको निर्दिष्ट स्थानमा अपलोड गरी कम्पनीको website www.ntc.net.np वा recruit.ntc.net.np मार्फत दरखास्त दिनुपर्नेछ । 

रीत नपुगी, म्याद नाघी वा दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू संलग्न नभई पेस भएको दरखास्त उपर कुनै कारबाही हुनेछैन । अनलाइनद्वारा फाराम भर्दा आवेदकले भरेका र अपलोड गरेका विवरणहरू तोकिए बमोजिमका नभएमा वा झूठा ठहरिएमा त्यस्ता विवरणहरूको हकमा आवेदक स्वयं नै जिम्मेवार हुनेछ । लिखित परीक्षा लोक सेवा आयोगबाट सञ्चालन हुनेछ।

53535