एजेन्सी : म्यानमारमा सुरक्षाकर्मीले अन्धाधुन्ध चलाएको गोली लागेर कम्तीमा ३८ जनाले ज्यान गुमाएका छन् । सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएकामाथि बर्बरतपूर्वक ढंगले सुरक्षाकर्मीले गोली चलाएका हुन् । जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै रक्तपातपूर्ण दिन भनेको बीबीसीले जनाएको छ ।
बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ । अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ। सुरक्षा फौजले विभिन्न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ।
गत माघ फेब्रुअरी १ तारिखमा सेनाले सत्ता हातमा लिएपछि म्यानमारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन्। म्यानमारका छिमेकीहरूले संयमता अपनाउन आग्रह गरेको एक दिनपछि त्यस्तो घटना भएको छ।
सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर पनि छन्। एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ।
कूपछि नेत्री आङ सान सूचीसहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ। प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन्। सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएपछि दैनिक हिंसा भइरहेको छ । उक्त चुनावमा सूचीको दल न्याश्नल डेमोक्र्याटिक पार्टीले ठूलो जित हासिल गरेको थियो।
सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन। उसले निर्वाचन आयोगमा हेरफेर गरेको छ र यही वर्ष ताजा चुनाव गराउने वाचा गरेको छ। अन्तर्राष्ट्रिय रूपमा बढ्दो निन्दाकाबीच सेनाले सडक प्रदर्शनविरुद्धको कदम बढाएको छ र बुधवार थुप्रै ठाउँहरूमा हिंसात्मक झडपहरू भएका छन्।
सेनाले बाह्य प्रतिबन्धहरूको सामना गर्न तयार रहेको बताएको छ। प्रत्यक्षदर्शीहरूले समाचार संस्था रोयटर्सलाई बताएका अनुसार सुरक्षा फौजले कैयौँ नगर र सहरहरूमा छोटो चेतावनीमै गोली चलाएको छ।
गत आइतवारको हिंसामा १८ जना मारिएका थिए। निर्वाचित सरकार अपदस्थ गर्दै शक्ति हातमा लिएको म्यानमारको सेनाले सङ्कटकाल घोषणा गरेको छ। पछिल्ला दिनहरूमा सुरक्षाकर्मी र प्रदर्शनकारीहरूबीच हिंसा बढ्दै गएको देखिन्छ।