बैशाख १०, २०८१ सोमबार

गलकोट (बागलुङ), १० वैशाखः बागलुङमा एक लाख १६ हजार नागरिक स्वास्थ बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०७३ असारदेखि लागू भएको यस कार्यक्रममा नागरिकको आकर्षण थप बढ्दो छ ।

सो बीमाबाट लाभ लिनका लागि स्वास्थ्य सेवाको पहुँच भने अझै पुग्न सकेको छैन । स्वास्थ्य बीमामा पहुँच पुगे पनि आफ्नै पालिकामा त्यसबाट लाभ लिन नपाएकामा बीमितहरू निराश देखिएका छन् ।

निसीखोला गाउँपालिका–३ का हुमलाल रेग्मीले आफ्नै पालिकामा निःशुल्क स्वास्थ्य सेवा पाउने आशले स्वास्थ्य बीमा गरे पनि हालसम्म बीमामार्फत औषधोपचार नपाएको गुनासो गर्नुभयो । 

हुमलालमात्रै होइन निःशुल्क स्वास्थ्य सेवा पाउने आशमा स्वास्थ्य बीमा गरेका यस पालिकाका १४ हजार तीन ४२ जनामध्ये कसैले पनि आफ्नै घरछेउमा बीमाबाट लाभ लिन सकेका छैनन् । गाउँपालिकाले त सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने अभियान नै सञ्चालन गरेको छ । त्यसका लागि आफ्नै स्रोतबाट पहिलोपटक स्वास्थ्य बीमा गर्ने नागरिकको प्रिमियम बराबरको रकम तिर्ने गरेको छ । यस कार्यले सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउन सघाउ पुगे पनि स्वास्थ्य सेवा पाउन ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र धाउनुपर्ने बाध्यता रहेको रेग्मीको भनाइ छ ।

“गाउँगाउँमा स्वास्थ्य चौकी, स्वास्थ्य चौकी नभएका ठाउँमा सामुदायिक स्वास्थ्य केन्द्र र गाउँघर क्लिनिक स्थापना गरिएका छन् तर स्वास्थ्य बीमाबाट लाभ लिन धेरै टाढाको बुर्तिवाङ धाउनुपरेको छ”, रेग्मीले भन्नुभयो, “चिकित्सकसहितको आधारभूत अस्पताल आफ्नै ठाउँमा सञ्चालनमा आए त हामीले यही ठाउँबाट लाभ लिन पाउथ्यौँ नि !”

निसीखोलाका पूर्णबहादुर चन्दले पनि सामान्य उपचारका गर्न लागि जाँदासमेत स्वास्थ्य बीमाबाट सेवा लिन नपाउँदा आफूहरू निराश भएको बताउनुभयो । 

गाउँपालिकाका अध्यक्ष अध्यक्ष सूर्यबहादुर घर्ती भने पालिकामा दस श्ययाको आधारभूत अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेकाले अब केही महिनामै स्वास्थ्य बीमाबाट लाभ लिने अवस्था बन्ने बताउनुहुन्छ । 

दशवटा स्थानीय तह रहेको बागलुङमा बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिकाका गरी चार पालिकाका नागरिकले मात्रै आफ्नै ठाउँमा सेवा लिने गरेको स्वास्थ्य बीमा बोर्ड बागलुङका दर्ता अधिकारी नारायणप्रसाद पौडेलले बताउनुभयो । त्यसबाहेक निसीखोला, तमानखोला, बरेङ, बडिगाड, ताराखोला र काठेखोला गरी छवटा गाउँपालिकामा स्वास्थ्य बीमाका प्रथम सेवाबिन्दु नहुँदा त्यहाँका नागरिक सेवा पाउनकै लागि सदरमुकामलगायत छिमेकी जिल्लामा जानुपर्ने बाध्यता रहेको पौडेलको भनाइ छ ।

स्वास्थ्य बीमाबाट बीमित परिवारलाई एक वर्षसम्म रु. एक लाख बराबरको निःशुल्क उपचारको सेवा प्रदान गर्ने व्यवस्था छ । हाल स्वास्थ्य बीमाबाट जिल्ला सदरमुकाममा रहेको धवलागिरि अस्पताल, ढोरपाटनमा रहेका बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, गलकोट नगर अस्पताल, जैमिनीको कुश्मीसेरामा रहेको नगर अस्पतालमा प्रथम सेवाबिन्दुका रूपमा रहेका छन् ।