बैशाख १०, २०८१ सोमबार

नेपालगञ्ज (बाँके), १० वैशाख : बाँकेको खजुरा गाउँपालिका–३ स्थित नागरिक आरोग्य सेवा केन्द्रमा पहिलो पटक पूर्वकर्म तथा पञ्चकर्म (थेरापी) सेवा शुभारम्भ भएको छ । 

    नसा च्यापिएका, बाथरोग, मोटोपन घटाउनेलगायत समस्या आयुर्वेद पद्धतिमा थेरापीबाट समाधान गर्न सकिने उद्देश्यले सो सेवा सुरु भएको नागरिक आरोग्य सेवा केन्द्र खजुराका प्रमुख किरण खनालले राससलाई जानकारी दिनुभयो । सेवाग्राहीको रोग पहिचान गरी उपचारलाई प्रभावकारी बनाउन पूर्वकर्म तथा पञ्चकर्म थेरापीले ठूलो भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । 

    खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले पञ्चकर्म र पूर्वकर्म थेरापी सेवा विस्तारले आयुर्वेद उपचार पद्धति र योग शिक्षाप्रतिको आकर्षण बढ्दै गएको उल्लेख गर्दै खजुरा नागरिक आरोग्य सेवा केन्द्रलाई अस्पतालका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभयो । खनालका अनुसार नागरिक आरोग्य सेवा केन्द्रमा निःशुल्क औषधि वितरण, सुत्केरीलाई लक्षित गरी स्तनपान सेवा, दुग्धवद्र्धक र सुरक्षात्मक औषधि वितरण, विद्यालय आयुर्वेद तथा योग शिक्षालगायतका सेवा प्रवाह गरिनेछ । 

    त्यसैगरी नसर्ने रोगको न्यूनीकरणमा समेत सेवा केन्द्रले सन्देश प्रवाह गर्ने बताइएको छ । चिकित्सा विज्ञानसँगै आयुर्वेद उपचारलाई पनि पालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय मानिसको दैनिक जनजीवन अस्तव्यस्त भएकाले नसर्ने रोगको न्यूनीकरणका लागि सो उपचार पद्धति प्रभावकारी उपायका रुपमा मानिएको छ । 
 
    पछिल्लो समय बाँकेका अधिकांश स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापना गरेर आयुर्वेद उपचार पद्धतिमार्फत उपचार र योग साधनामा जोड दिइएको छ । चालु आर्थिक वर्षको छ महिनामा पूर्व पञ्चकर्म सेवा दुई हजार नौ सय १० ले लिएका छन् । यसैगरी ज्येष्ठ नागरिकतर्फ नौ सय २७ ले सेवा लिएका छन् । योग सेवा लिनेको सङ्ख्या दुई हजार दुई सय ८७ रहेको छ ।