बैशाख ११, २०८१ मंगलबार

नेपालगञ्ज, ११ वैशाख : बाँकेको नेपालगञ्ज उमहानगरपालिका–२ स्थित हनुमानगढीमा आयोजित तीनदिने महोत्सव सम्पन्न भएको छ ।

हनुमान जन्मोत्सवका अवसरमा आइतबारदेखि सुरू भएको महोत्सव आज झाँकीसहित निकालिएको शोभायात्रापछि भण्डारा तथा प्रसाद ग्रहण गरेसँगै सम्पन्न भएको मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदीप भट्टराईले जानकारी दिनुभयो । शोभायात्रामा नेपाल र भारतका सयौँ श्रद्धालु तथा सन्तमहन्थको सहभागिता रहेको थियो ।

यसअघि सोमबार अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पूजनका साथै भारतको अयोध्याबाट आएका कलाकारहरूले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायतका कार्यक्रम गरिएका हनुमानगढीका थानापती महन्त उमेश गिरी बताउनुभयो ।

उहाँका अनुसार हनुमानगढीमा विराट हनुमानजीको सालिक निर्माणाधीन अवस्थामा रहेको छ भने अन्य भौतिक संरचनाको विकास भएमा श्रद्धालुहरूको आकर्षण थप बढ्नेछ ।