बैशाख १२, २०८१ बुधबार

बरहथवा (सर्लाही), १२ वैशाख  : सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । 

 बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा रु छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

     बिजुलीको तार सर्ट भएर आगलागी भएको हो । 
घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना  घाइते भएका हुन् । घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको हो । अर्का स्थानीय २३ वर्षीयका राज मङ्गलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 

यसैबीच, गए राति  जिल्लाको कविलासी नगरपालिका–२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार मूल्य बराबरको परालको कुन्यू नष्ट भएको छ । आगलागीबाट सोही स्थानका वारिस शेख, ह्रदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यू जलेको हो । 

    दुवै स्थानमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा निभाइएको थियोे ।