एजेन्सी : साविक विजेता फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वान फुटबलमा कठिन जित निकालेको छ ।
बिहिवार बिहान सम्पन्न भएको खेलमा पिएसजीले बोर्डेअक्सलाई उसैको मैदानमा १-० गोलले हराएको हो । पाहुना टोली पिएसजीको जितमा एक मात्र गोल पाब्लो सराबियाले गरे । खेलको २०औँ मिनेटमा उनले गरेको गोल नै चोटका कारण समस्यामा रहेको पिएसजीका लागि निर्णायक बन्यो ।
त्यस्तै उक्त खेलमा उसका स्टार खेलाडीहरू नेयमार, किलियन एम्बाप्पे, एन्जल डी मारिया, मोइसे किन, मार्को भेराट्टी, एलेसान्द्रो फ्लोरेन्जी र जुआन बर्नाट थिएनन् ।
उक्त जितसँगै दोस्रो स्थानकाे पिएसजीले २८ खेलमा ६० अङ्क जोडेकाे छ । पिएसजी शीर्ष स्थानकाे लिलेभन्दा दुई अङ्कले पछि रहेकाे छ । पराजित बोर्डेअक्स भने ३३ अङ्कका साथ १५औँ स्थानमा छ ।