बैशाख १४, २०८१ शुक्रबार

पाटन (ललितपुर), १४ वैशाखः खुट्टा गुमाएका सात जनालाई कृत्रिम खुट्टा राख्न ललितपुर महानगरपालिकाले सुन्दर ढोका साथीसेवा नामको संस्थालाई आर्थिक सहयोग गरेको छ ।

महानगरपालिकाले उक्त संस्थालाई रु चार लाख ४३ हजार पाँच सयको चेक बिहीबार प्रदान गरेको हो । विसं २०७२ को भूकम्पमा खुट्टा गुमाएका सात बालबालिकालाई कृत्रिम खुट्टाको व्यवस्थाका लागि उक्त रकम प्रदान गरिएको महानगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।

“अपाङ्गता भएकाहरूको जीवन सहज बनाउन नसके हामीले भनेको ललितपुर महानगर ‘स्मार्ट’ सहर बन्दैन, त्यसैले हामी उहाँहरूसँगै छौँ । यो सुन्दरढोका साथीसेवाले अपाङ्गताको क्षेत्रमा उदाहरणीय काम गरेको छ । यस्तो संस्थासँग सहकार्य गर्दै अपाङ्गता भएकाहरूको मुहारमा खुसी ल्याउन हामी प्रतिबद्ध छौँे”, नगरप्रमुख महर्जनले भन्नुभयो । 
उहाँले जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गर्न विनियोजन गरेको रकम तालिममा खर्च नगरी अपाङ्गता भएकाहरूका लागि ‘ह्वीलचियर’ खरिदमा खर्च गरिएको जानकारी दिनुभयो ।
सुन्दर ढोका साथीसेवाका अध्यक्ष कोषविलास अधिकारीले प्राकृतिक खुट्टाविहीनलाई सहयोग गरेकामा कृतज्ञता व्यक्त गर्नुभयो । 
कृत्रिम खुट्टाका निम्ति सिफारिस भएका निशा बुढा र मोहन रोकाले प्राप्त सहयोगबाट आफूहरूलाई जीवन यापनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।