बैशाख १४, २०८१ शुक्रबार

गाईघाट (उदयपुर), १४ वैशाखः उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने रु ५० लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी  हुँदा उनका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो । आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित रु ३० लाख र छोरा रमेशको घरमा रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीयले रौतामाई गाउँपालिकाको दमकल प्रयोग गरेर आगो निभाएका थिए ।