बैशाख २०, २०८१ बिहिबार

काठमाडौँ, २० वैशाख ः प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजिपी कृष्ण मूर्तिबीच आज प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । 

    भेटघाटका क्रममा उहाँहरुबीच आपसी सहयोग, सूचनाको आदानप्रदान तथा समन्वयलगायतका विषयमा छलफलसमेत भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । 

    उहाँका अनुसार यसअघि आइजिपी कृष्ण मूर्तिसमेत छ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको साङ्गठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवं अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्यसम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

    सो अवसरमा आइजिपी कृष्ण मूर्तिले इन्डोनेसियन नेशनल प्रहरीको काम, कर्तव्यबारेमा विस्तृतरुपमा जानकारी दिँदै सूचना आदानप्रदान, अन्तरदेशीय अपराध, साइबर अपराध, संयुक्त राष्ट्रसङ्घीय मिसनमा सहभागितालगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताउनुभयो । 

    सो क्रममा इन्डोनेसियन नेशनल प्रहरीका वरिष्ठ उपरीक्षक लियो एण्डी गुनावानले संयुक्त राष्ट्रसङ्घीय मिसनमा इन्डोनेसियन नेशनल प्रहरीको सहभागिताबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतहरुकोसमेत उपस्थिति  थियो । 

    आइजिपी कृष्ण मूर्तिसमेतको टोली पाँचदिने भ्रमणका सिलसिलामा मङ्गलबार नेपाल आएको थियो । कृष्ण मूर्तिसहितको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनलगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको प्रवक्ता ढकालले बताउनुभयो ।