बैशाख २०, २०८१ बिहिबार

वीरगञ्ज, २० वैशाखः पटेवा सुगौली गाउँपालिकामा कृषिउपज सङ्कलन र व्यवस्थापनका लागि आधुनिक बजार निर्माणको शुभारम्भ गरिएको छ । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र गाउँपालिकाको संयुक्त लगानीमा गाउँपालिकाको वडा नं २  रङ्गपुरमा बजार निर्माण गर्न लागिएको हो । 

    पटेवा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेशकुमार चौधरीले एक करोड नौ लाख लागतमा वडा नम्बर २ रङ्गपुर पर्सामा कृषिउपज र अनाजको बिक्रीवितरण र व्यवस्थापनका लागि निर्माण गर्नका लागि बजार निर्माणको काम सुरुआत गरेको बताउनुभयो । 

    “यहाँका कृषकले उत्पादन गरेका कृषिउपजलाई व्यवस्थित ढङ्गले राख्ने ठाउँको अभावलाई पूर्ति गर्नका लागि आधुनिक बजार निर्माणको सुरुआत भइसकेको छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ ।”

    गाउँपालिकाले कृषि बजार बनेसँगै यहाँका कृषकले उत्पादन गरेको मौसमी तरकारी तथा अन्य उपजले उपयुक्त बजार व्यवस्थापन गर्न सघाउ पुग्ने जनाएको छ । “उचित बजार नहुँदा कृषकले विभिन्न खालका झन्झट बेहोर्नु परिरहेको छ”, उहाँले भन्नुभयो, “हामीले यही परिसरमा थप रु १९ लाख खर्च गरेर फुड चेम्बर पनि राख्ने तयारी गरिरहेका छौँ । फुड चेम्बर कोल्डस्टोर जस्तै हुनेछ ।” गाउँपालिकाले चार कट्ठा क्षेत्रफल जग्गामा सो बजार निर्माण गर्न लागेको हो । अध्यक्ष चौधरीले बजारको चारैतर्फबाट पर्खाल लगाएर संरचना निर्माण गरिने बताउनुभयो ।
 
    अध्यक्ष चौधरीले गाउँपालिकाका क्षेत्रका कृषकले काउजी, करेला, घिराँैला, बोडी, भिन्डी, च्याउँलगायतको व्यावसायिकरुपमा खेती गर्दै आइरहे पनि उचित बजार नपाउने समस्या पनि कायमै रहेको बताउनुभयो । “यो आधुनिक बजार निर्माण भएसँगै एकातर्फ एकातर्फ कृषिउपजले बजार पाउन सक्नेछ । बचेका कृषि उपजलाई कोल्डस्टोरमा राखेर पछि पनि बेचबिखन गर्न सकिनेछ”, उहाँले भन्नुभयो, “अन्य क्षेत्रबाट ल्याएका तरकारी तथा सागसब्जीलाई कोल्डस्टोरमा राखेर अन्य समयमा पनि प्रयोग गर्न सकिनेछ ।”