बैशाख २३, २०८१ आइतबार

सिमकोट (हुम्ला), २३ वैशाख : हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाले सञ्चालन गरेको घरदैलो स्वास्थ्य शिविर सम्पन्न भएको छ । बिहीबारदेखि सञ्चालन भएको शिविर शनिबार सम्पन्न भएको हो । तीन दिनसम्म सञ्चालन भएको शिविरमा नौ सय ५० जनाले स्वास्थ्य सेवा लिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हंस महताराले बताउनुभयो । 
    
    गाउँपालिकाले स्वास्थ्य संस्थासम्म पुग्न नसकेका ज्येष्ठ नागरिक, बालबालिकाका लागि उक्त सेवा दिएको अधिकृत महताराले बताउनुभयो । अधिकृत महताराका अनुसार अदानचुलीका नागरिकलाई घरमै पुगेर सेवा दिनका लागि १० स्थानका विभिन्न ठाउँमा उक्त सेवा प्रदान गरिएको हो । स्वास्थ्य शिविरमा विभिन्न रोगका समस्याग्रस्त बिरामीको उपचार गरिएको अधिकृत महताराले जानकारी दिनुभयो । 
   
    उक्त स्वास्थ्य शिविरमा पहिलो दिन दुई सय ४०, दोस्रो दिन दुई सय ४५ र तेस्रो तथा अन्तिम दिन पाँच सय ६५ जनाको जाँच तथा उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख विनोद बुढाले बताउनुभयो । तीन दिनसम्म सञ्चालन भएको शिविरको गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंह, उपाध्यक्ष कर्ण रोकाया, विभिन्न वडाका वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत महतराले अनुगमन गर्नुभएको थियो । वडा नं ५ मा रहेको काखे प्राथमिक विद्यालयमा सञ्चालन भएको स्वास्थ्य शिविरमा ५६ महिला ४१ जना पुरुष गरी ९७ जनालाई जाँच गरिएको छ भने ११ जना दीर्घरोगका बिरामीलाई उपचार गरिएको स्वास्थ्यकर्मी नरबहादुर महताराले बताउनुभयो । 
    
    उपचार गरिएका बिरामीको सामान्य रहेको बताइएको छ । यस्तै वडा नं ५ मै रहेको करगाइमा सञ्चालन भएको शिविरमा एक सय ७३ जनाको जाँच गरिएको थियो । सामान्य जाँचका लागि घण्टाँैको बाटो भएर स्वास्थ्य केन्द्रसम्म पुग्नुपर्ने ज्येष्ठ नागरिकको कष्ट बुझेर उक्त शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सिंहले बताउनुभयो ।