बैशाख २५, २०८१ मंगलबार

तम्घास (गुल्मी), २५ वैशाख : ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि चलिआएको वाक्य हो । यसको माग विभिन्न जिल्लाका साथसाथै विदेशमासमेत हुने गर्दछ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ थानापति थोर्गाको गुडको आफ्नै ब्रान्ड छ । अहिले यही गुडलाई बजारीकरणको प्रयास भइरहेको छ । 

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (नार्क), उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र हेफर प्रोजेक्ट नेपालले संयुक्त रुपमा थेर्गोली गुडको बजारीकरणको प्रयास थालेका हुन् । नार्कले विशेषगरी गुडको बजारीकरण गर्न भौगोलिक सङ्केत दिने काम गर्दै आएको छ । थानापतिका ७० वर्षीय इन्दुवर ज्ञवालीले पाँच रोपनी आफ्नो र २७ रोपनी जग्गा भाडामा लिएर उखुखेती गर्नुभएको छ । उहाँले उखुबाट वार्षिक १२ हजार ६ सय लिटर उखुको रस र त्यसबाट चार हजार दुई सय लिटर खुदो बनाउनुहुन्छ । उहाँले गुड र खुदो बिक्री गर्दै आउनुभएको छ । 

मौसमअनुसार उखुको उत्पादनमा घटबढ हुने हुँदा गुड र खुदोको उत्पादनमा पनि घटबढ हुन्छ । परम्परादेखि नै उखु खेतीमा लागेका ज्ञवाली पछिल्लो वर्षमा थप व्यावसायिक बन्नुभएको छ । उहाँले गत वर्ष प्रति लिटर रु दुई सय २० मा १६ टन खुदो बिक्री गरेको बताउनुभयो । उहाँले उखु खेती, प्रशोधन र बजारीकरण आफै गर्दै आउनुभएको छ । 

“विदेशबाट फर्केको छोरोले पनि अहिले फर्केर मेरै पेसा अँगालेको छ”, ज्ञवालीले भन्नुभयो, “गुड र खुदो बेचेर वार्षिक रु सात लाख रकम आम्दानी भयो ।” उखु खेतीबाटै घरमा आफूसहित श्रीमती, छोराबुहारीको जीविकोपार्जन राम्रोसँग भएको उहाँको भनाइ छ । ज्ञवालीले अहिले विभिन्न संस्थासँग मिलेर गुडको बजारीकरण गर्न थाल्नुभएको छ । तर तराईबाट भेली ल्याएर थोर्गेली गुड भन्दै कतिपयले बिक्री गरेकामा उहाँको गुनासो छ । 

थानापतिकै अर्का किसान शिशिरराज ज्ञवालीले अहिले खुदो र गुड खरिद गर्न ग्राहक घरमै आउने भएकाले बजारीकरणको कुनै समस्या नभएको बताउनुभयो । उहाँले कूल १५ रोपनी जग्गामा उखु लगाउनुभएको छ । ज्ञवालीले पनि उखुको आफै प्रशोधन गरेर खुदो र गुड बनाउनुहुन्छ । “बजारीकरणको समस्या नभए पनि थेर्गेली गुडको राष्ट्रिय पहिचान बनाउनु छ”, उहाँले भन्नुभयो, “त्यसैका लागि अहिले हामी गुणस्तर वृद्धि गर्ने अभियानमा छौँ ।” अहिले गुड र खुदोको बजार राम्रो भएकाले उत्पादन गर्न थप हौसला मिलेको ज्ञवालीले बताउनुभयो । बुबाले पनि उखुखेती गरेकाले आफूले त्यही पेसा थामेको उहाँ बताउनुहुन्छ । उहाँ आफैले व्यावसायिक खेती गर्न थालेको २० वर्ष भयो । 

रुरुक्षेत्र गाउँपालिका–१ भड्कुवाका किसान हुमनाथ ज्ञवालीले पनि गुडमा भविष्य देखेर यस वर्षदेखि उखुखेती सुरु गर्नुभएको छ । उखु राम्रोसँग हुर्किन पाए एउटै घारको सय रुपैँयासम्म पर्छ । 

नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत राष्ट्रिय जीन बैंकका प्राविधिक अधिकृत एवं गुडको बजारीकरणका अनुसन्धानकर्ता प्रदीप थापाले थोर्गेली गुडको विवरण सङ्कलन गरिरहेको बताउनुभयो । थोर्गाको गुडले भौगोलिक सङ्केत पाएमा बजारीकरणमा सहयोग पुग्ने र त्यसका साथै भौगोलिक सङ्केत पाए उपभोक्ताको उपभोगको तथा उत्पादक विचौलियाबाट मुक्त हुने उहाँले बताउनुभयो । 

गुल्मीमा विशेषगरी रुरुक्षेत्रको थोर्गा र छत्रकोटको दिगाममा बढी मात्रामा खुदो र गुड बनाउने गरिन्छ ।  गुल्मीको मुख्य प्रवेशद्वारा रिडीमा दिगाम र थोर्गाको गुड भनेर तराईबाट भेली ल्याएर गुड बिक्री गर्ने गरेको समेत पाइन्छ । थोर्गाको गुड र खुदोको माग बढी भएकाले गाउँपालिकाले पनि उखु खेतीमा जोड दिएको छ ।