असार ३०, २०७८ बुधबार

हुम्लाका युवायुवतीहरूले हिमाली क्षेत्रमा उपलब्ध स्थानीय अन्नबालीबाट खाजा नास्ताका परिकार बनाउ थालेपछि स्वरोजगार बन्दै गएका छन् । काम गर्ने ईच्छा भएकाहरूलाई सीप प्राप्त हुँदा व्यवसाय सञ्चालनमा आएपछि बेरोजगार बसेकाहरू स्वरोजगार भएका हुन् ।

लामो समय बेरोगार बस्दै आएकी पेमाडोल्मा लामाले हुम्लाका उत्पादन फापर, कोदो, जौ, उवा, चिनोलगायतका अन्नबाट खाजाको परिकार बनाउने व्यवसाय सञ्चालन गरेर स्वरोजगार सिर्जना भएको बताइन् । सीपको अज्ञानताले बेरोजगार बसिरहेका बेला सिनामल, मुफिन, बम, पिजा, केक, पाउरोटीलगायतका दसवटा नास्ताका परिकार बनाउने तालिम प्राप्त भएपछि काम खोज्न जानु परेको छैन । यी परिकारहरूको मुल्य पचास रुपियाँदेखि एक हजार पर्ने गर्छ । यी परिकारहरबु सधै नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गबाट महङ्गो हवाई ढुवानी तिरेर आयात भइरहेका बेला जिल्लामै स्थानीय उत्पादनका परिकारले एकातिर बेरोजगार युवायुवतीले स्वरोजगार बन्ने अवसर प्राप्त गर्ने भएको छ भने अर्कोतिर आर्थिक कमाई पनि राम्रो हुन थालेको छ ।

मुख्यमन्त्री जिविकोपार्जन कार्यक्रमअन्तर्गत स्नोल्याण्ड एकीकृत विकास केन्द्रको सहजिकरणमा २२ जना युवायुवतीलाई दश दिने स्वरोजगारमुलक तालिम प्रदान गरिएको थियो । केन्द्रका निर्देशक गोबिन्द शाहीले तालिमलगत्तै दुई समूहले व्यवसाय सुरु गरेका छन् भने अन्य दुई समूहले जिल्लाका दक्षिणी क्षेत्रका गाउँपालिकामा सुरु गरेको बताग । ती व्यवसायीलाई प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम पनि छ ।