यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनको भाडादरमा भारी वृद्धि गरेको छ । विभागका अनुसार यात्रुबाहक सवारीको भाडादर हाल कायम रहेको मूल्यमा २० देखि २८ प्रतिशतसम्म वृद्धि गरिएको हो ।
यस्तै, पहाडी बाटामा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत वृद्धि गरिएको छ । तराईंको बाटामा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशतले बढाइएको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।
श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफालगायत मुख्य सूचकहरूमा देखिएको मूल्यवृद्धिको आधारमा भाडामा समायोजन गरिएको विभागको भनाइ छ । असार २७ गते यससम्बन्धी प्रस्तावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहमति दिएको प्रवक्ता भुसालले बताए ।