जेठ ४, २०८१ शुक्रबार

महेन्द्रनगर (कञ्चनपुर), ४ जेठ : नेपाली सेनाले भलिबल खेलाडीहरुलाई सहयोग गरेको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण केन्द्रमा आश्रित सुदूरपश्चिमका विभिन्न जिल्लाका खेलाडीलाई सेनाले खाद्यान्नलगायत सामग्री सहयोग गरेको हो ।

    कञ्चनपुर जिल्ला भलिबल सङ्घले लामो समयदेखि खेलाडी एकत्रित गरेर यहाँस्थित प्रशिक्षण केन्द्रमा भलिबलको अभ्यास तथा उहाँहरुलाई पढ्न सहयोग गर्दैआएको छ । खेलाडीको नियमित प्रशिक्षणका दौरान उहाँहरुको खानपिनको व्यवस्थापनमा सहयोग पुगोसो भन्ने उद्देश्यले यहाँस्थित सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेक, रुद्रध्वज गण र श्रीदल गुल्मले चामल, तेल, मसला, बिस्कुटलगायतका सामाग्री सहयोग हो । 

    श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथि मनोज थापाले उक्त सामाग्री भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टलाई हस्तान्तरण  गर्नुभयो । सो अवसरमा बाहिनीपति सहायकरथि थापाले खेलाडीलाई अनुशासित, लगनशिल र मेहनतका साथ प्रशिक्षणमा लगाव राख्न तथा भलिबल खेलमार्फत विश्वर नेपाललाई चिनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो । 

    नेपाली सेनाले यसअघि भलिबल प्रशिक्षण केन्द्रको भवन निर्माणदेखि विभिन्न प्रतियोगितामा समेत सहयोग र सहकार्य गर्दै आएको भलिबल प्रशिक्षक भट्टले बताउनुभयो । हाल प्रशिक्षण केन्द्रमा झण्डै एक सयको हाराहारीमा खेलाडी प्रशिक्षणरत छन् । पन्ध्र खेलाडी प्रशिक्षण केन्द्रमै बसेर अध्ययन तथा भलिबलको अभ्यास गर्दैआएका छन् ।