असार ३१, २०७८ बिहिबार

अमेरिकामा पछिल्लो समय मताधिकारसम्बन्धी मुद्दा गम्भीर चर्चाको विषय बनेको छ। सन् २०२० मा भएको राष्ट्रपति चुनाव र पराजित भएका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्वीकार गर्दै आएको नतिजा एवम् धाँधली भएको प्रमाणविहीन आरोपपछि विभिन्न राज्यहरूमा मतदानसम्बन्धी व्यवस्थामा परिवर्तन गर्ने प्रस्तावसहितका कानुन ल्याउनेक्रम जारी छ।

विशेष गरी रिपब्लिकनहरूको सत्ता रहेका राज्यमा मताधिकारलाई ‘सीमित’ गर्ने व्यवस्थासहितका नयाँ कानुन ल्याउने प्रयास भइरहेको विश्लेषकहरूले बताएका छन्। रिपब्लिकनहरूले भने ती व्यवस्था प्रजातन्त्रमाथिको विश्वास बढाउन र चुनावलाई निष्पक्ष र स्वतन्त्र पार्नका लागि रहेको दाबी गर्दै आएका छन्।

तर उनीहरूले त्यस्तो बताए पनि सीमान्तकृत तथा मताधिकारको पहुँचबाट पर रहेका वा समेटिन नसकेकाहरूलाई मतदान गर्न थप कठिन बनाउने व्यवस्था प्रस्तावित कानुनमा रहेको र त्यसको एउटै मात्र कारण आफ्नो विपक्षमा नतिजा आउने सम्भावना नियन्त्रणका ‘कुत्सित’ उद्देश्य रहेको डेमोक्र्याटहरूले बताउँदै आएका छन्।

हुलाकमार्फत हुने मतदानलाई सीमित गर्ने, मतदानका लागि चाहिने परिचयात्मक कागजातसम्बन्धी व्यवस्था कडा पार्ने तथा मतदानको समय पनि सीमित गर्ने प्रस्ताव रिपब्लिकनहरूको सत्ता रहेका राज्यहरूमा ल्याइएका वा ल्याउन खोजिएका मतदानसम्बन्धी नयाँ कानुनमा छन्।

केन्द्रमा सत्ता रहेको डेमोक्र्याटिक पार्टीले रिपब्लिकनको शासन रहेका राज्यहरूले मताधिकार सीमित गर्ने नियतसहित ल्याएका कानुनलाई ‘काउन्टर’ गर्नका लागि देशव्यापी रुपमा लागु हुने मताधिकार विस्तार गर्ने सम्बन्धी व्यवस्थासहितको विधेयक ल्याएको छ। तल्लो सदनबाट पारित भए पनि माथिल्लो सदनमा रहेको ‘फिलरबस्टर’ सम्बन्धी व्यवस्थाका कारण पारित हुन सकेको छैन।

माथिल्लो सदन सिनेटमा डेमोक्र्याट र रिपब्लिकन सांसदको सङ्ख्या समान ५०–५० छ। फिलरबस्टरसम्बन्धी व्यवस्थाका कारण विधेयक पारित हुनका लागि ६० मत चाहिन्छ। तर रिपब्लिकनहरू विधेयक पारित गर्दा विस्तार हुने मताधिकारले आफूहरूलाई मुनाफा नगर्ने पूर्वानुमानका कारण अवरोध गरिरहेको राष्ट्रपति जो बाइडेनसहित शीर्ष डेमोक्र्याटदेखि राज्य तहका नेताहरुले बताउँदै आएका छन्।

गएको चुनावमा सीमान्तकृत तथा हुलाक मार्फत भएका मतदानको ठूलो हिस्सा डेमोक्र्याट तर्फ गएको थियो। त्यसलाई सीमित गर्ने नियतमा रिपब्लिकनहरू रहेको र यो अमेरिकी प्रजातन्त्रका लागि गम्भीर चुनौती र खतरा रहेको मताधिकारका अभियन्ताहरूले दाबी गर्दै आएका छन्। राष्ट्रपति बाइडेनले केही दिनअघि मताधिकार सहज र सबैको पहुँचमा पुर्‍याउनुको साटो त्यसलाई कठिन र सीमित गर्नका लागि भइरहेको प्रयास गम्भीर खतराको विषय रहेको बताएका थिए।

मताधिकार सीमित गर्ने सम्बन्धी कानुन प्रस्ताव गर्ने मध्ये एक राज्य टेक्सास पनि हो। त्यहाँ रिपब्लिकनको सत्ता छ। टेक्सासका डेमोक्र्याटिक सांसदहरू सो कानुनको विपक्षमा छन्। उनीहरूले कानून पारित हुन रोक्नका लागि प्रयास गरिरहेका छन्। सोही क्रममा ५० भन्दा बढी राज्यतहका सांसदहरू अहिले राजधानी वासिङ्गटन डिसी आएका छन्। उनीहरू आउँदा टेक्सास सदनमा कानुन पारितका लागि बैठक डाक्न लागि चाहिने कोरम पुग्दैन।

टेक्सासबाट डिसी आएका राज्य सांसदहरूले सिनेटरहरूसँग भेट गरेर आफ्नो पक्ष राखिरहेका छन्। यो अभियानमा रहेका एक टेक्सासका सांसद जेम्स तालारिकोले फक्स न्युजसँगको अन्तर्वार्तामा सञ्चालकलाई नै प्रश्न गरेका छन्।

फक्स न्युजका होस्ट पिट हेगसेथसँगको अन्तर्वार्ताको क्रममा सांसद जेम्सले ‘२०२० को चुनावमा डोनाल्ड ट्रम्प पराजित भएका हुन् ?’ भनेर प्रतिप्रश्न गरे। तर सञ्चालक पिटले त्यसको उत्तर दिएनन्। जेम्सले आफूहरू प्रतिबन्धात्मक मतदानसम्बन्धी कानुनमा आफूहरूको आपत्ति केन्द्र तहसम्म बुझाउनका लागि आएको उनले बताए।

फक्स न्युजलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रिय च्यानलका रूपमा लिइन्छ र सो च्यानलका होस्टहरूले खोप विरोधीसहित चुनावमा धाँधली भएको भन्ने प्रमाणविहीन आरोपलाई लगातार ‘सत्य’ का रूपमा प्रस्तुत गरिरहेको मिडिया विश्लेषकहरूले बताउँदै आएका छन्।