जेठ ४, २०८१ शुक्रबार

कास्की,४ जेठ : साइक्लिङको माध्यमबाट खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा भोली राष्ट्रिय साइकल दौड प्रतियोगिता हुँदैछ ।  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको राष्ट्रिय साइकल दौड प्रतियोगिता हुन लागेको छ । महिला, पुरूष र ‘रन फर फन’ गरेर तीन विधामा प्रतियोगिता सञ्चालन हुने समितिका अध्यक्ष दीपकबहादुर गोदारले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । गोदारका अनुसार प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।

    प्रतियोगिताको रूट पोखरा–१७ र पोखरा–२१ मा पर्ने गरेर तय गरिएको सहआयोजक कास्की जिल्ला साइक्लिङ सङ्घका अध्यक्ष शङ्कर भण्डारीले बताउनुभयो । प्रतियोगितामा पुरूषतर्फ २८ किलोमिटर र महिलातर्फ २० किलोमिटरमा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

    पोखरा–१७ पावर हाउसबाट बिहान प्रतियोगिता सुरू हुनेछ । पावर हाउसबाट सुरू हुने दौड महतगौँडा–दोबिल्ला झोलुङ्गे पुल हुँदै पोखरा–२१ फेदीपाटन–खस्र्याङ–निर्मलपोखरी–फेदीपाटन–दम्सादी हुँदै पावर हाउस आएर टुङ्गिने छ । प्रतियोगितामा एक सय जना खेलाडी सहभागी हुने आयोजकको अनुमान छ ।

    प्रतियोगितामा सहभागी खेलाडीको रु पाँच लाख बराबरको बीमा गरिएको अध्यक्ष गोदारलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला–पुरूष खेलाडीले जनही क्रमशः रु ५० हजार, रु तीन हजार र रु २० हजारका दरले नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार पाउने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयो ।  । 

    चौँथो र पाँचौँ हुनेले क्रमश ः रु १० हजार र रु पाँच हजारसहित मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सहभागी हुने पोखरा महानगरपालिकाभित्रका खेलाडी जसले दूरी सुरूमा पार गर्छ उसले नगद रु १० हजार पोखरा च्याम्पियनको उपाधि प्राप्त गर्ने बताइन्छ ।

    प्रतियोगिताको सहआयोजक पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगीले पर्यटकीय राजधानी पोखरा भन्ने नारालाई सफल पार्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले स्वस्थ हुन खेलकुद आवश्यक रहेकाले वडाले विभिन्न खेल प्रतियोगिता गरेर स्वस्थ नागरिक र खेलाडी उत्पादनमा ध्यान दिएको बताउनुभयो । समितिका अध्यक्ष गोदारले महानगरले ग्रास रूटबाटै खेलाडी उत्पादनमा जोड दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले १० वटा ग्रासरूट प्रतियोगिता ग¥यौँ । यो भनेको विद्यालयसँग जोडिन्छ जहाँबाट खेलाडी उत्पादन हुन्छ, ।”