जेठ ४, २०८१ शुक्रबार

ललितपुर, ४ जेठः सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुभएको छ । 

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारद्वारा आज यहाँ आयोजित ‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रियामा सहभागीहरूले दिगो र पर्यटनमैत्री वातावरण निर्माणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण जोगाउन सबै सरोकारवालाको बलियो प्रतिबद्धता आवश्यक भएको उल्लेख गर्दै उत्पादित विद्युत्को खपत बढाउनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुभयो । “सरकारले ऊर्जा विकासको मार्गचित्र र कार्ययोजना बनाएर विद्युत् उत्पादन बढाउने, वितरण प्रणालीको आवश्यक पूर्वाधार निर्माण र खपत बढाउने गरी योजना बनाएका छ”, उहाँले भन्नुभयो । 

मन्त्री बस्नेतले सरकारको सहज नीतिका कारण पछिल्ला केही वर्षयता विद्युतीय सवारीसाधनको आयात र प्रयोग बढिरहेको बताउनुभयो । विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै सरकारले चार्जिङ स्टेशन निर्माणमा पनि जोड दिएको उहाँको भनाइ छ । “नेपाल विद्युत् प्राधिकरणले हाल ५१ वटा चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । आगामी दिनमा थप पाँच सयवटा चार्जिङ स्टेशन निर्माण आवश्यक छ, त्यसतर्फ सरकार अघि बढेको छ”, मन्त्री बस्नेतले भन्नुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुपर्ने भए पनि पूर्वाधारमा लगानी पर्याप्त नभएको बताउनुभयो । “पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको छ  । पर्यटकीय क्षेत्रमा पनि विद्युतीय सवारी प्रयोगमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “लुम्बिनीमा पर्यटकका लागि ल्याइएका विद्युतीय बस थन्किएर बसेको अवस्थामा छ । त्यसैले तिनलाई छिट्टै प्रयोगमा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पर्यावरणका क्षेत्रमा सरकारी तवरबाट विभिन्न प्रतिबद्धता आएको र अब प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो । राष्ट्र बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (इएसआरएम) मार्गदर्शन र हालै तयार भएको ग्रीन ट्यासोनोमीको मस्यौदामा पनि विद्युतीय सवारीसाधलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले ८० प्रतिशत कर्जामा विद्युतीय सवारीसाधन खरिद सुविधा दिइएको जानकारीसमेत बताउनुभयो । “राष्ट्र बैंकले अन्य सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनको खरिदमा बढी कर्जा पाउने व्यवस्था गरेको छ । अब त्यसका उपयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

वातावरणविद् भुषण तुलाधरले विश्वव्यापीरूपमा वातावरणीय प्रदूषण बढिरहेकाले त्यसको न्यूनीकरणका लागि पनि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुभयो । उहाँले विद्युतीय सवारी खरिदमा कर्जा लिँदाको जोखिम भार पनि कम गर्नुपर्ने धारणा राख्नुभयो । हाल काठमाडौँमा साझा यातायातले ४० वटा विद्युतीय सवारीसाधन थपेको भन्दै यसबाट पनि प्रदूषण कम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

विद्युतीय सवारी बिवाइडीको आयातकर्ता कम्पनी सिनेम्याक्स इङ्क प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) साहिल श्रेष्ठले हाल नेपालमा १५ हजारभन्दा बढी बिवाइडी गाडी गुडिरहेको जानकारी दिनुहुँदै पर्यावरण जोगाउनका लागि विद्युतीय सवारीसाधनको विकल्प नभएको बताउनुभयो । उहाँले पछिल्लो समय चार्जिङ स्टेशनको उपलब्धता र कम खर्चिलो हुने हुँदा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको बताउनुभयो ।

आयोजक स्पार्क कारका अध्यक्ष रोशन घिमिरेले सरकार व्यवसायमैत्री र व्यवसाय वातावरणमैत्री हुनुपर्नेमा जोड दिँदै विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने धारणा राख्नुभयो । “नेपालमा गुणस्तरीय पर्यटक आउने क्रम बढेको छ, लक्जरी होटल पनि थपिँदै छन् तर पर्यटकमैत्री गुणस्तरीय सवारीसाधनको प्रयोग भने बढाउन सकिएको छैन । यसको प्रयोग बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।