जेठ ४, २०८१ शुक्रबार

कर्णाली, ४ जेठ : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका काममा तीव्रता दिन निर्देश गर्नुभएको छ । 

    मन्त्री श्रेष्ठले आज कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालसहितको टोलीलाई आफ्नै कार्यकक्षमा बोलाएर दशौँ खेलकुद प्रतियोगिताबारे जानकारी दिने क्रममा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । मन्त्री श्रेष्ठले आगामी मङ्सिरमा हुने खेलकुद प्रतियोगिता तोकिएकै मितिमा हुने र सोहीअनुसार तयाररी गर्न निर्देशन दिनुभएको सञ्ज्यालले राससलाई जानकारी दिनुभयो । 

प्रतियोगिता आयोजक कर्णाली प्रदेशको उत्साह र पूर्वतयारीले धेरै खुसी लागेको भन्दै मन्त्री श्रेष्ठले अबको केही दिनमा स्थलगत अध्ययनको लागि मन्त्रालयका तर्फबाट टोली खटाइनेसमेत बताउनुभएको उहाँले जानकारी दिनुभयो ।  “दशौँ राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेश भए पनि सफल बनाउन सबैले लाग्नुपर्छ, अबको केही दिनमा मन्त्रालयका तर्फबाट रिजल्ट आउने गरी कामको थालनी हुन्छ”, मन्त्री श्रेष्ठलाई उद्धृत गर्दै सञ्ज्यालले भन्नुभयो । 

छलफलमा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सञ्ज्यालले प्रतियोगिताको आन्तरिक तयारी बलियो बनाइ सकेकाले तोकिएको मितिमा प्रतियोगिता हुने सुनिश्चितताका लागि आग्रह गर्नुभयो ।  “हिजो खेल पूर्वाधारको अभाव देखाएर धेरै पटक कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर लिन सकिरहेको थिएन । अहिले कर्णाली हरेक हिसाबले सक्षम छ”, सदस्य सचिव सन्यालले भन्नुभयो, “प्रतियोगिता तोकिएको मितिमा हुन्छ भन्नेमा हामी त ढुक्क छौँ । सङ्घीय सरकार, राष्ट्रिय खेलकुद परिषद् र विभागीय मन्त्रालयले त्यो सुनिश्चिता गर्नुपर्छ ।”