जेठ ४, २०८१ शुक्रबार

मकवानपुर, ४ जेठः बागमती प्रदेशसभाअन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको सभापति पदका लागि आज अपराह्नसम्ममा चारवटा पदमा मनोनयन दर्ता गरिएको छ । 

राजनीतिक दलको सहमतिअनुसार नेपाली कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिको सभापति पदमा श्रीराम लामिछाने र प्रदेश मामिला समितिमा छिरिङदोर्जे लामा, कृषि, शिक्षा तथा स्वास्थ्य समितिको सभापति पदमा नेकपा (माओवादी केन्द्र) का ठाकुरप्रसाद ढकालको मनोनयन दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

अर्थ तथा विकास समितिको सभापति पदमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट दुईजनाको उम्मेदवारी दर्ता गरेकाले सो पदमा भोलि शनिबार अपराह्न निर्वाचन हुने सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।  नेकपा (एमाले)को भागमा परेको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पदमा भने उम्मेदवारी दर्ता नभएको प्रदेशसभा सचिवालयले जनाएको छ । 

माओवादी केन्द्रका प्रदेशसभा सदस्य रत्नप्रसाद ढकालले आज बसेको सर्वदलीय बैठकले निर्विरोध निर्वाचन गर्ने सहमति गरेअनुसार मनोनयन दर्ता भएका बताउनुभयो ।