असार ३१, २०७८ बिहिबार

साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक दोहोरो अंकले बृद्धि भएको छ । गत बुधबार झिनो (१.०१) अंकले बृद्धि भएको नेप्से बिहीबार ११.३३ अंकले बढेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ११.३३ अंकले बढेर २ हजार ८८३ दशमलब ३८ बिन्दुमा पुगेको छ ।

यसदिन ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत १.९३ अंकले बढेर ५४१ दशमलव ३१ विन्दुमा उक्लिएको छ ।  नेप्सेका अनुसार आज कुल २२३ कम्पनीका ५ करोड ८५ लाख कित्ता माथिको सेयर ७३ हजार २७२ पटक बजारमा किनबेच हुँदा अधिकतम ८ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

गत बुधबार बजारमा ५ अर्ब ६५ करोड ४५ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको थियो ।  आज बैंकिङ्ग, ट्रेडिङ्ग, हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड समूहहरु धनात्मक (पोजेटिभ) रहेका छन् भने, ‘होटल तथा पर्यटन, विकास बैंक, म्यानु एण्ड प्रो,जीवन बीमा, लगानी र अन्य क्षेत्रहरू ऋणात्मक (नेगेटिभ) भएका छन् ।’