साउन २, २०७८ शनिबार

दार्चुला, छाङरुकी सरू बोहरा उमेरले सात दशक टेक्दैछिन् । सन्तानहरू हुकाइसकेकी उनी आराम गरेर बस्नुपर्ने बेला एकतमासले सुइरो चलाउदै स्वीटर बुनिरहेकी छन् । उनका जेठा छोरा नरेशसिंह बोहरा काठमाडौँमा छन् । जो लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । दुई छोरा सपरिवार अमेरिकामा छन् । उनी भने पतिसँगै छाङरु मै बस्छिन् । भाष्कर सिंह लाला राजधानी काठमाण्डौमा कहलिएका चार्टड अकाउटेण्ट हुन् । उनकी आमा कुन्ती लाला भने छाङरु मै बस्छिन् ।

राधा बोहरा, ७७ पतिसँगै छाङरुमा छन् । उनका छोरा हेमेन्द्रसिंह बोहरा काठमाण्डौंमा छन् । छाङरुमा जन्मिएका हेमेन्द्रले संसारकै प्रतिष्ठित हावर्ड युनिभर्सिटीमा छात्रवृत्ति पाए र पढाइ सकेपछि उनी काठमाण्डौं फर्किए । संसारसँग प्रतिस्पर्धा गर्नसक्ने छोरा यही छाङरुका आमाले जन्माएकी छिन् । पति व्यापारका लागि ताक्लाकोट–दिल्ली व्यस्त रहँदा उनीहरू छाङरुमै थिए । सन्तानहरू हुर्किएर काठमाण्डौं हुँदै सात समुन्द्रपारि पुगिसके । जीवनको उत्तरार्द्धमा पनि ती आमाहरू छाङरुमै छिन् । जसले छाङरु कहिल्यै छाडेनन् । हो, छाङरु तिनै आमाहरूले जोगाएका हुन् ।

महाकाली नदी किनारमा रहेको छाङरु दार्चुलाको सीमान्त बस्ती हो । भारतले अतिक्रमण गरेको गुञ्जी, कुटी, लिम्पियाधुरा, कालापानी यसैसँग जोडिएको छ । छेउका सबै बस्ती र कालापानीसहितको ३९५ वर्गकिलोमिटर भूभाग भारतले अतिक्रमण गर्दा छाङरु भने सुरक्षित छ । छाङरु सुरक्षित हुनु र यसलाई सुरक्षित राख्न आमाहरूको योगदान छ । जसले कठिन अवस्थामा पनि छाङरु छाडेनन् । कठ्यांग्रिदो जाडो सहे । घामपानी सहे । तर छाङरु कुरिरहे । हो, छाङरु तिनै आमाहरूले जोगाएका हुन् । सन्तानहरू हुर्केर, पढेर देशविदेश पुगे । आमाहरू छाङरुमै छन् । उनीहरूले छाङरु नछाडेकै कारण भारतीय पक्षबाट अतिक्रमण हुन पाएन । छाङरुमा जन्मिएका स्वर्गीय गोपालसिंह बोहरा नेपाली सेनाका सहायक रथी भए । अवकाशपछि संविधान सभा सदस्य भए र सेना समायोजन समितिको सदस्यका रूपमासमेत जिम्मेवारी निर्वाह गरे । यो देशको संविधान निर्माण र शान्ति निर्माण प्रकृयामा समेत छाङरुको योगदान छ ।

गोपालसिंह बोहरालाई जन्म दिने आमा वीरमा बोहराको योगदान त अझै बढी छ । छोरा गोपाल बर्दी लगाएका सैनिक थिए । उनी विनाबर्दीकी सैनिक । जसले जीवनभरी छाङरुलाई सुरक्षा दिइरहिन् । उनले माइती देशका विरुद्ध छाङरुमा पहरा दिइरहिन् । उनका छोरा सेनामा जागिरे थिए । तर छाङरुका लागि भने उनी सुरक्षा कवच थिइन् । भलै, उनले युद्ध लडिनन् । तर आफ्नो भूगोललाई भने अतिक्रमण हुन दिइनन् । सायद गुञ्जी, कुटी, नाभी, कालापानी र लिम्पियाधुरामा पनि यस्तै आमाहरू भएको भए आज त्यहाँ भारतीय सेनाले परेड खेल्न पाउने थिएन ।

नेपाल सरकारलाई तिरो तिरेको प्रमाणले गुञ्जी, कुटी, नाभीका अनागरिक भइसकेका अझ भन्नुपर्दा पराई नागरिक भइसकेकाहरूले बोली देलान् र त्यो भूमि फर्किएला भन्ने आश गर्नु व्यर्थ छ । पुरुषहरू व्यापारका लागि बाहिर जाने । महिलाहरूले घर सम्हाल्ने । सौका जातिको यो नियम हो । पुस्तौँदेखि ताक्लाकोट–दिल्ली व्यापार सम्बन्ध भएका यसरी व्यापारी सम्हाल्ने योगेशसिंह बोहरा तेस्रो पुस्ता हुन् । उनले हजुरबुवा र बुवालाई पछ्याए । उनकी हजुरआमा र आमाले घर सम्हालिन् । परिवार सम्हालिन् । त्यतिमात्र होइन- परिवार हुर्काउन र जोगाउन योगदान पुर्‍याएकी योगेशकी हजुरआमा र आमाले छाङरुलाई पनि हुर्काइन । जोगाइन ।

७७ वर्षीय एक आमाले आफूले बुझेको अतिक्रमणको ईतिहास सुनाइन्, '‘गुञ्जी, नाभी, कुटी पहिले त नेपालकै हो । तर पछि कँग्रेसले लग्यो । नेपाली नेताहरू हल्ला मात्र गर्छन् । काम गर्दैनन् । सरकार पनि उस्तै छ । कालापानी मिचियो भनेर विरोध गर्छन् । कालापानी त परको कुरा हो । कोही पनि अहिलेसम्म कौवा पुगेका छैनन् । तर काठमाण्डौं पुगेर कालापानी पुग्यौ भनेर हल्ला गर्छन् । गुञ्जी, नाभी, कुटी, कालापानी हामीले गुमायौ ।" सुदूरपश्चिम प्रदेशसभा सदस्य ग्याल्बु बोहरा भन्छन्, "छाङरु आमाहरूले जोगाए । यसको संरक्षणमा जति आमाहरूको योगदान छ, समृद्धि र विकासमा पनि त्यत्तिकै योगदान छ ।"

छोराहरूले छाङरु बिर्सिसके होइन त आमा ? यो प्रश्न झर्न नपाउँदै एक आमाले विलम्ब नगरी प्रष्टीकरण दिइन्, दुई वर्षअघि छोरा नाति-नातिनासहित आएको थियो, त्यसपछि कोरोनाका कारण आउन पाएन । ती आमाहरू जसले हिउँद पनि भनिनन् । ६ महिना हिउले ढाकिने छाङरुका ढोकामा ताल्चा लगाएर सदरमुकाम झर्दा मनमा भने छाङरुकै चिन्ता बोकेर बाँचिरहिन् । हिउँ पग्लिनुभन्दा पहिले छाङरुको मायाले मन पग्लिसकेको हुन्थ्यो । र त पूरै हिउँ पग्लिएला र जाउला कहिल्यै सोचेनन् । हिउँ पन्छाउँदै उनीहरू छाङरु पुगिसकेका हुन्थे ।

आमाहरूले आफ्ना घामपानीबाट जोगाएर सन्तानहरूलाई मात्र हुर्काइनन् । छाङरुलाई पनि हुर्काइन् र जोगाइन् पनि परचक्रीबाट । उवा, फापर र आलुबाहेक केही फल्दैन छाङरुमा । ‘सन्तानले डाँडाकाडा ढाकुन’, यो आशिर्वाद फलेको छ । सपनाहरू बाटो भएर हिड्ने भए सायद आज छाङरुका सन्तानहरू अमेरिका वा युरोप हुँदैनथे । पराई बाटो हिँडेर सपना भने उनीहरूले आफ्नै साँचे । जिन्दगी पनि आफ्नै बाँचे । गुनासा त धेरै थिए सरकारसँग । आफ्नै कर्म र पाखुरामा विश्वास गर्ने सौकाहरू गुनासालाई आफैभित्र थाँती राखेर कर्म गरिरहे । र त सडक, सञ्चार र सरकारसँग अहिलेसम्म नजोडिएको छाङरु र तिंकर दार्चुलाका लागि हिरा र मोती जस्तै बहुमुल्य छन् । अमुल्य छन् ।

सौका जातीको आफ्नै भाषा र संस्कृति छ । आफ्नो भाषामा बोल्दाबोल्दै लवजमा हिन्दी मिसिन्छ, आमाहरूको । छाङरुका शतप्रतिशत आमाहरूको माइती देश भारत हो । अर्थात् सबै आमाहरू भारतीय चेली हुन् । माइती घर छाडे पनि त्यो भाषा त मनमा गढेको छ नि । तर मन र मुटुमा भने बस् नेपाल छ । नेपालको माया छ । यद्यपि, त्यो गुञ्जीको सिरानमा उभिएको पहाडभन्दा अग्ला छन्, उनीहरूका गुनासाहरू आफ्ना देशका नेताहरूप्रति । भन्छन्- नेताहरू हेलिकोप्टरमा आउँछन्, जान्छन् । एकछिन हेलिकोप्टरमा आउनेले हाम्रा समस्या के बुझ्थे ? पैदल आएको भए पो थाह पाउँथे, हाम्रा दुःख ।

ती आमाहरू जसले आफू अन्धकारमा रहेर पनि छोराछोरीलाई दिलाइन शिक्षाको ज्योती । आफू जलेर सन्तानलाई उज्यालो दिने आमाहरूको योगदानको प्रतिफल हो, आजको छाङरु । जो अत्यन्त विकट त छ, फेरि पनि समृद्ध छ । सुखी छ । त्यसैले त छाङरुको सरकारप्रति गुनासो कम, आफ्नो कर्मप्रति सन्तुष्टि बढी छ । सन्तानहरूलाई अमेरिका, युरोप र अष्ट्रेलियाको बाटो देखाउने आमाहरू सदरमुकामसँग जोडिने बाटो हेरेर बसेकी छन् ।

छाङरु कहिले सदरमुकामसँग जोडिएला ? कहिले आफ्नै देशको बाटो हिड्न पाइएला ? एक साथ थुप्रै जिज्ञासाहरू राख्दै राधा बोहराले भनिन्, नुन त आफ्नो देशमा फल्दैन । कहिले खान पाइएला आफ्नो देशको माटोमा फलेको अन्न ? 

बत्ती छैन । खानेपानी छैन । टेलिफोन छैन । स्वास्थ्य चौकी छैन । आमाहरूले सरकारलाई झै हामीलाई यी अभावहरू सुनाइसकेकी थिइन् । आमाहरूको विश्वास थियो, यिनले (हामीहरू) काठमाण्डौंलाई यी कुरा सुनाइदिनेछन् । फर्किने बेलामा आमाले जोड दिँदै भनिन्, सरकारलाई छाङरुमा बाटो पुर्‍याउन भनिदिनु बाबु । यो समाचार दीर्घराज उपाध्यायले पश्चिम टुडेमा लेखेका छन् ।