साउन २, २०७८ शनिबार

‘कोभिडबारेको गलत सूचनामा, फेसबुकजस्ता प्लेटफर्मलाई तपाई के भन्नुहुन्छ ?’ ह्वाइट हाउसमा शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई एक पत्रकारले सोधेका थिए । त्यसपछि वाइडेनले जवाफमा भनेका थिए - "खोपबारे गलत सूचना शेयर गर्न दिएर फेसबुकले ‘मानिस मारिरहेको’ छ । 

बिहीबारमात्रै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले कोरोना भाइरस र खोपबारेको गलत सूचना नियन्त्रण गर्नका लागि बाइडेन प्रशासनले फेसबुकसँग छलफल गरिरहेको बताउँदा उनले आलोचना सहनुपरेको थियो । तर त्यसको भोलिपल्ट बाइडेनले अमेरिकामा खोप नलगाएका मानिसमाझ मात्रै महामारी रहेको र उनीहरूले मान्छे मारिरहेकाे आरोप लगाएका हुन् ।

फेसबुकले शुक्रबारै विज्ञप्ति जारी गर्दै बाइडेनको आरोपको खण्डन गरेको छ । कम्पनीले मानिसको ज्यान लिने नभएर ज्यान जोगाउन काम गरिरहेको उसको दाबी छ । २ अर्ब मानिसले कोभिड १९ र खोप बारेको विश्वासिलो जानकारी फेसबुकमार्फत लिएकाे फेसबुकले जनाएको छ । यस्तै ३३ लाखभन्दा धेरै अमेरिकीहरूले कहाँ र कसरी खोप लगाइन्छ भनेर पत्ता लगाउनका लागि आफ्नो ‘भ्याक्सिन फाइन्डर टुल’ प्रयोग गर्ने गरेको फेसबुकको दाबी छ ।

यसअघि अमेरिकी सर्जन जनरल विवेक मुर्थीले खोपबारे फैलाइएका गलत सूचना जनस्वास्थ्यका लागि घातक रहेको घोषणा गरेका थिए । त्यस्तै, अमेरिकी अधिकारीहरूले खोपका कारण मृत्यु र गम्भीर बिरामी हुने अवस्थालाई रोकथाम गर्न सकिने बताएका थिए । ‘गलत सूचनामा हाम्रो देशको स्वास्थ्यमा तातो र खतरनाक चुनौती पेश गरेको छ’ बिहीबार ह्वाइट हाउसमा मुर्थीले भनेका थिए, ‘हामीले गतल सूचनासँग लड्नैपर्छ । मानिसको जीवन यसमा निर्भर छ ।’ एजेन्सी ।