साउन ३, २०७८ आइतबार

चालु आर्थिक वर्षको सुरुवाती कारोबार दिन आज आइतबार नै नेप्सेमा उछाल आएको छ । नेप्से आज एकैदिन ९७ दशमलव १३ अंकले बढेर २९ सय ८० दशमलव ५३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ५६ अंकले बढेर पाँच सय ६० दशमलव ९६ अंकमा पुगेको छ ।

आज दुई सय २१ वटा कम्पनीहरुको एक लाख १६ हजार दुई सय ९४ पटकको कारोबारमा दुई करोड ८८ लाख ६३ हजार ९३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार चार सय ९३ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार हुँदा १३ वटै समूहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ९२ दशमलव ५८ अंकले बढेर दुई हजार ५७ दशमलव ३८ अंकमा पुग्दा विकास बैंक समूहको सूचक पनि दुई सय ३३ दशमलव नौ अंकले बढेर चार हजार आठ सय ४७ दशमलव ४७ अंकमा पुगेको छ ।

यसैगरी निर्जीवन बिमा समूहको सूचक पनि चार सय ४१ दशमलव २२ अंकले बढेर १४ हजार चार सय ५७ दशमलव ३३ अंकमा पुग्दा जीवन बिमा समूहको सूचक पनि छ सय ४८ दशमलव ४६ अंकले बढेर १७ हजार छ सय ६५ दशमलव ९८ अंकमा पुगेको छ ।

यीबाहेक जलविधुत्, लघुवित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, फाइनान्स, उत्पादनमुलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि उच्च अंकले बढेका छन् ।

आज हिमालयन पावर पार्टनरको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर चार सय ९३ रुपैयाँमा कारोबार हुँदा एनआईबीएल समृद्धि फन्ड २ को प्रतियूनिट सेयर मूल्य पाँच दशमलव ३७ प्रतिशत घटेर १० रुपैयाँ २३ पैसामा कारोबार भएको छ ।

यसैगरी आज मञ्जुश्री फाइनान्सको प्रतिकित्ता १२ सय ८१ रुपैयाँ अन्तिम मूल्यमा ४० करोड ९९ ललाख ७५ हजार एक सय ४० रुपैयाँको सेयर किनबेच भएको छ ।