भारतमा संसद्को मनसुन सत्र सुरु भएकै दिन विपक्षीले अवरोध गरेपछि सुरु भएको ८ मिनेटमै स्थगित गरिएको छ ।
बैठकको सुरुमा नयाँ सदस्यहरूलाई शपथ दिलाइएको थियो । त्यसपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ मन्त्रीहरूको परिचय दिन थालेसँगै विपक्षीहरू उठेर विरोध जनाएका थिए । रक्षामन्त्री राजनाथ सिंहले विपक्षीहरूको भूमिकाप्रति आपत्ति जनाए । तर बैठक कक्षमा विपक्षी दलका सांसदहरूले चर्को नाराबाजी जारी राखे ।
विपक्षीहरूको अवरोधसँगै सभामुखले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।
बैठक अवरुद्ध भएकामा प्रधानमन्त्री मोदीले असन्तुष्टि जनाए । उनले भने, ‘आज सदनमा उत्साहको वातावरण होला भन्ने म सोचिरहेको थिएँ, किनकि ठूलो संख्यामा हाम्रा महिला सांसद, दलित दाजुभाइ, आदिवासी, किसान परिवारका सांसदहरू मन्त्रिपरिषद्मा सामेल हुनुभएको छ ।’
तर केही व्यक्तिलाई दलित, किसान तथा पिछडिएका वर्ग समुदायका मानिसहरू मन्त्री भएको कुरा अपाच्य भएर उनीहरूको परिचय दिने मौकासमेत आफूलाई नदिएको उनको भनाइ थियो ।
संसद् बैठक सुरु हुनुअघि उनले सदनमा शान्तिपूर्ण वातावरण बनाउन अपिल गरेका थिए । पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका थिए, ‘म सबै सांसदलाई आग्रह गर्दछु कि तीखो प्रश्न गर्नुस्, पटकपटक प्रश्न गर्नुस् तर शान्त वातावरणमा सरकारलाई जानकारी दिने मौका पनि दिनुहोस् ।’
सदनमा सार्थक र परिणाममुखी चर्चा भएमा जनतालाई पनि जानकारी हुने र देशको गति पनि तीव्र हुने उनले बताए ।