साउन ५, २०७८ मंगलबार

अमेरिका, बेलायत र युरोपियन युनियनले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन्। यो वर्ष (२०२१) को सुरुमा भएको साइबर आक्रमणमा चीनको संलग्नता रहेको आरोप उनीहरुले लगाएका हुन्।

माइक्रोसफ्टको एक्सचेन्ज सरभरमा भएको साइबर आक्रमणका कारण विश्वभरका कम्तीमा ३० हजार संस्थाहरु प्रभावित भएका थिए।

जासुसीका लागि चीनले साइबर आक्रमणको सहायता लिएको आरोप पश्चिमा सुरक्षा सेवाको छ। चीनको मिनिस्ट्री अफ स्टेट सेक्यूरिटी ९एमएसएस० माथि बिस्तारित रुपमा जासुसी गरेको आरोप लाग्दै आएको छ।

चीनले यसअघि नै साइबर आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएको थियो र आफू कुनै पनि प्रकारको साइबर अपराधको विपक्षमा रहेको बताउने गरेको छ।

तर अमेरिका, बेलायत तथा युरोपियन युनियनले संयुक्त रुपमा गरेको निन्दा तथा आक्रमणमा चीनको संलग्नता रहेको भन्ने आरोपले यो मुद्दाको गम्भीरता प्रदर्शित गरेको छ।