नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा कार्यकाल सकिनुभन्दा एक महिनाअघि बिदामा बसेर आफ्ना उत्तराधिकारीलाई कार्यवाहक जिम्मेवारी दिने सैन्य परम्पराअनुसार साउन २४ गतेबाट बिदामा बस्दै छन् ।
नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रूपमा रथी प्रभुराम शर्माले नेतृत्व लिँदैछन् । ४३ औं प्रधानसेनापति थापाले जेठ २३ मै पत्रकारहरूलाई साक्षी राखेर नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको घोषणा गरेका थिए । त्यसको करिब दुई महिनापछि अर्थात् साउन २४ बाट उनी बिदामा बस्दैछन् ।
को हुन् शर्मा ?
नेपाली सेनाको ४४ औं प्रधानसेनापति हुन लागेका रथी प्रभुराम शर्माले युद्ध कार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका छन् । शर्मा सेनाभित्र ‘मिलनसार’ अधिकारीको रूपमा चिनिन्छन् । शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हालेका छन् । त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका शर्माले भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका छन् । भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य कला हासिल गरेका शर्मा सेनाभित्र मिलनसार मात्रै नभई ‘एक्सन म्यान’का रूपमा पनि परिचित छन् ।
४३ औं प्रधानसेनापति थापाले आफ्नो कार्यकालमा के-के सुधार गरेका थिए ?
प्रधानसेनापति थापाले आफ्नो कार्यकालमा आन्तरिक सुधारतर्फ बढी ध्यान केन्द्रित गरे । उनले पद तथा आचरणविपरीत काम गर्ने धेरै सैन्य अधिकारीलाई कारवाही गरे । उनले सुरुवात गरेका आन्तरिक सुधारतर्फका कामलाई निरन्तरता दिँदै संगठनलाई थप सुदृढ र जनपक्षीय बनाउने चुनौती नयाँ नेतृत्व सामु देखिन्छ ।
थापाले आफ्नो कार्यकालको अधिकांश समय आन्तरिक व्यवस्थापनमा बिताउनु पर्दा राष्ट्रिय चुनौतीमा ध्यान दिन नसकेको अवकाश प्राप्त उपरथी विनोज बस्नेत बताउँछन् । चीन र भारतमा सैनिक मुभमेन्ट गर्नसक्ने क्षमता धेरै भएकाले नेपालको पनि डिफेन्स बलियो बनाउनुपर्ने उनको भनाइ छ ।
उनका अनुसार भावी प्रधानसेनापति शर्मा सैन्य कुटनीतिमा दक्ष मानिन्छन् । ‘सेनालाई राम्रोसँग म्यानेज गर्न सक्ने क्षमता पनि उहाँमा देख्छु,’ उनले भने ।
नेपाली सेनाको संगठन ८ पृतनाबाट ‘३ जोड १’को संरचनामा गइसकेको छ । सो संरचना अपर्याप्त भएको हुनाले त्यसलाई पूर्णता दिनुपर्ने चुनौती पनि शर्माको काँधमा छ । प्रधानसेनापति थापाले नक्कली शैक्षिक प्रमाणपत्र, नागरिकता किर्ते र भर्नामा हुने चलखेल नियन्त्रणमा पनि प्रभावकारी ढङ्गले काम गरे । यसलाई पनि आगामी नेतृत्वले निरन्तरता दिनुपर्ने देखिन्छ । राष्ट्रिय सुरक्षामा थपिएका चुनौतीको मुकाबिला गर्नुपर्ने दायित्व पनि अब शर्माको काँध सर्दै छ ।