गत वर्षको साउनदेखि हालसम्म चितवन राष्ट्रिय निकुञ्जमा ३४ वटा गैँडा मरेका छन् । विश्वमै दुर्लभ मानिएको एकसिङ्गे गैँडाको असल बासस्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन निरन्तर गैँडा मर्न थालेपछि चुनौती थपिएको छ ।
गैँडा संरक्षणका लागि विज्ञहरूले स्थानान्तरण विकल्प हुनसक्ने सुझाएका छन् । गैँडाको विषयमा विद्यावारिधि गर्नुभएका डा. नरेश सुवेदीका अनुसार चितवन गैँडाको असल बासस्थान कहलिएको ठाउँ भए पनि पछिल्ला दिनमा गैँडाको मृत्युदर बढ्दै गएकाले चितवनको विकल्पमा अरू ठाउँलाई पनि गैँडा बासस्थानका रूपमा विकास गर्नुपर्ने स्थिति देखिएको छ ।
गत वर्ष चितवनमा मात्र २८ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् भने चारवटा गैँडा चोरी सिकारीबाट मारिएका छन् । चितवनमा हरेक वर्ष नारायणी नदीको बाढीले बगाएर, एकापसमा लडेर, दलदलमा भासिएर, बाघको आक्रमणमा परेर मृत्यु हुने दर वृद्धि भइरहेको छ । अर्काेतर्फ विचरणका लागि भारततर्फ जाने कारणले पनि चिवतनमा जति मात्रामा गैँडाको सङ्ख्या देखिनुपर्ने हो, त्यो सङ्ख्या नदेखिने गरेको विज्ञहरूको भनाइ छ । चितवनबाट सन् १९८६ मा नै गैँडा स्थानान्तरणको कार्यक्रम सुरु गरी बर्दिया र शुक्लाफाँटामा हाल गैँडाको अस्तित्व कायम हुँदै आएको छ ।