साउन ८, २०७८ शुक्रबार

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपालमा उद्योग, व्यापार कृषि तथा सेवा क्षेत्रमा गरी कुल १०९ मूलकहरूबाट ३२ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको व‌ैदेशिक लगानी [एफडीआई] भित्रिएको छ ।

सोमध्ये सबैभन्दा बढी भारतलाई समेत पछि पार्दै आर्थिक वर्ष २०७७/७८ मा कुल २२ अर्ब ५० करोड २० लाख रुपैयाँ चिनियाँ लगानी नेपाल भित्रिएको उद्योग विभागले जनाएको छ । जबकि गत वर्ष भारतबाट जम्मा ७२ करोड ६० लाखको मात्र लगानी भित्रिएको विभागको तथ्याङ्कले देखाएको छ । त्यसो त यो भन्दा अघिल्लो वर्षमा समेत भारतलाई पछि पार्दै चीनले नै अधिकतम् २५ अर्ब ६५ करोड माथिको लगानी नेपालमा ल्याएको विभागको तथ्याङ्कले देखाएको छ ।

यस्तै, गत वर्षमा सिंगापुरबाट १ अर्ब ९१ करोड, हङकङबाट १ अर्ब २७ करोड, ब्रिटिस भर्जिन आइल्याण्डबाट ३० करोड, मलेसियाबाट ४ करोड ९० लाख, जापानबाट ५ करोड, म्याक्सिकोबाट १५ करोड, नेदरल्याण्डबाट १५ करोड ६५ लाख, दक्षिण कोरियाबाट ९ करोड, जर्मनबाट २१ करोड र अमेरिकाबाट अधिकतम १ अर्ब ६२ करोडको लगानी भित्रिएको विभागले जनाएको छ ।

तर, तुलनात्मक रूपमा अघिल्लो आर्थिक वर्षको भन्दा गत आर्थिक वर्ष २०७७/७८ मा अधिकांश मुलुकहरूबाट कम वैदेशिक लगानी आएको विभागले जनाएको छ ।