जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलीबाट मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रशासनले एक आदेश जारी गर्दै लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाएको छ ।
काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले शनिबारदेखि लागू हुने गरी लामो तथा मध्यम दूरीका यातायात खुलाउन आदेश जारी भएको बताए ।
लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले भनेको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ ।
काठमाडौंको निषेधाज्ञा साउन १० गते मध्यरातसम्म कायमै छ । उपत्यकामा साउन लागेसँगै बढेको भाइरस संक्रमणलाई मध्यनजर गर्दै १० गते नै बस्ने उपत्यकाका तीन जिल्ला प्रशासनहरुको बैठकले थप आदेशहरु जारी गर्ने भएको छ ।
