साउन ९, २०७८ शनिबार

साङ्केतिक तस्बिर

नेपालमा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणलगायतका क्षेत्रमा काम गर्नका लागि दुईवटा अन्तरराष्ट्रिय संस्थाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) र अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच नेपालको भूपरिधि तहमा जैविक विविधताको संरक्षण, जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक विपत् व्यवस्थापन, वायु प्रदूषणको नियन्त्रणलगायतका विषयमा अध्ययन अनुसन्धान गर्दै समुदायस्तरसम्म काम गर्नका लागि शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएको हो ।

डब्लूडब्लूएफका तर्फबाट राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङ र इसिमोडका महाप्रबन्धक डा. पेमा ग्याम्सोबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएको हो ।
डब्लूडब्लूएफले विश्वभरि संरक्षणका क्षेत्रमा काम गर्दै आएको छ भने इसिमोडले हिन्दकुश हिमालय क्षेत्रका नेपाल, भारत, पाकिस्तान, चीनलगायतका देशमा काम गर्छ ।
इसिमोडले विज्ञानमा आधारित जलवायु परिवर्तनको पारेको असर र अनुकूलनका लागि अपनाउनुपर्ने उपाय, पानीको स्रोतको अवस्था, जैविक विविधतालगायतका क्षेत्रमा अध्ययन अनुसन्धानका काम गरिरहेको छ ।
पछिल्ला दिनमा नेपालमा बाढी, पहिरो, हिमताल फुट्नेजस्ता जोखिम बढिरहेका बेला यी दुई संस्थाले स्थानीय समुदाय, स्थानीय सरकार र सङ्घीय सरकारसँग मिलेर काम गर्ने योजना बनाएका छन् । पर्यटकीय विकासका गतिविधि, सहरीकरणमा जोड दिँदै गरिबी निवारण गर्ने कामका लागि क्षेत्रीय सहयोग तथा समन्वयका कामलाई प्रबर्द्धन गर्ने योजनाका लागि पनि सहमति पत्रमा हस्ताक्षर भएको बताइएको छ ।