काठमाण्डौ उपत्यकामा अझै १० दिनसम्म सभारजुलुस, जात्रा महोत्सव, भोज भतेर लगायत भीडभाड हुने गतिविधि गर्न नपाइने भएको छ ।
काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आउँदो २० गतेसम्म निषेधाज्ञा थप गर्दै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर, स्वीमिङ पुल, मनोरञ्जनस्थल, सङ्ग्रहालय, रङ्गशालामा हुने दर्शकसहितको खेलकुद तथा मानिसको भीडभाड हुने अन्य कार्यक्रम गर्न नपाउने निर्णय गरेको हो ।
यस्तै खुला ठाउँमा भेला हुन, नित्य पूजा बाहेकका धार्मिक एवं सांस्कृतिक कार्यक्रम, भौतिक उपस्थितिमा हुने पठनपाठनका कार्यक्रमसमेत गर्न पाइने छैन ।
तोकिएको परीक्षा सञ्चालन गर्दा भने एक कोठामा २५ जनासम्म राख्न पाइने छ, तर स्वास्थ्यका सबै मापदण्ड पूर्ण पालना गर्नुपर्ने हुन्छ । गोष्ठी, तालिम, सेमिनार बैठक, प्रशिक्षण जस्ता कार्यक्रम सञ्चालन गर्दा भर्चुअलको माध्यमलाई उपयोग गर्नुपर्ने र यदि उपस्थित नै हुनुपर्ने कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी गराउन नपाइने यसअघिको व्यवस्थालाई कायमै राखिएको छ ।
औषधि तथा स्वास्थ्यसम्बन्धी पसल जुनसुकै बेला खोल्न सकिने छ तर अरु पसल भने बेलुकी सात बजेसम्म मात्रै खोल्न पाइने छ । व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनले आग्रह गरेको छ । यस्तै स्वास्थ्य मापदण्ड पालनासहित सिट क्षमता अनुसारको यात्रु राखेर गाडी चलाउन पाइने आदेशमा उल्लेख छ ।