साउन ११, २०७८ सोमबार

नेपालले अन्तरराष्ट्रिय टी ट्वान्टी क्रिकेट वरीयतामा आयरल्याण्डलाई उछिनेको छ । अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो ।

आईसीसीले आइतबार अन्तरराष्ट्रिय टी ट्वान्टीको नयाँ वरीयता सार्वजनिक गरेको हो । आयरल्याण्डलाई उछिनेपछि एशोसिएट राष्ट्रहरूमा नेपाल अन्तरराष्ट्रिय टी ट्वान्टीको वरीयतामा शीर्षस्थानमा पुगेको छ । नेपालभन्दा माथि सबै टेष्ट खेल्ने राष्ट्रहरू छन् । आयरल्याण्डले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी ट्वान्टी शृङ्खला हारेपछि उसको वरीयता खस्केको हो । नेपालले भने पछिल्लो तीन महिना यता कुनै अन्तरराष्ट्रिय स्पर्धा खेलेको छैन । नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित टी ट्वान्टी शृङ्खला जिते यता निरन्तर विश्व वरीयतामा उक्लिँदै आएको छ । नेपालभन्दा आयरल्याण्डको अङ्क बढी भए पनि रेटिंग्स समान छ । नेपाल र आयरल्याण्ड दुवैको रेटिंग्स समान १८७ रहेको छ ।

नयाँ वरीयता बमोजिम इंग्ल्याण्ड हाल शीर्षस्थानमा छ । भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, पाकिस्तान चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा पुगेको छ । दक्षिण अफ्रिका छैटाैं, अफगानिस्तान सातौं, वेष्टइन्डिज आठौं, श्रीलङ्का ९ औं, बङ्गलादेश दशौं र जिम्बाब्वे ११ औं स्थानमा छ ।