साउन १२, २०७८ मंगलबार

वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको छ । साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ ।

सोमबारदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) रु ३८५ र मिडियम प्रतिक्रेट रु ३५५ कायम गरिएको छ । नेपाल अण्डा उत्पादक सङ्घले लागू गरेको यो दर रेट हालसम्मकै उच्च हो । केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार मागअनुसार अण्डा पुर्‍याउन कठिन भएको छ । हाल दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ ।

अन्य समयमा यो सङ्ख्या ४७ लाखसम्म पुग्ने गरेको उनले बताए । निषेधाज्ञाका समयमा अण्डाको भाउ प्रतिक्रेट ३३० सम्म झरेको थियो । हाल अण्डाको लागत मूल्य प्रतिक्रेट ३६० हाराहारी पर्ने केसी बताउँछन् । कोभिडले निषेधाज्ञा भएका समयमा खपत क्रमशः बढ्दै गएको केसीको बुझाइ छ । कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् ।