साउन १२, २०७८ मंगलबार

एजेन्सी । जापानको राजधानी टोकियोमा जारी विश्व खेलकुदको कुम्भमेलाको रुपमा हेरिरहेको ३२ औं गृष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक राष्ट्र जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । चीन र अमेरिकालाई उछिन्दै जापान शीर्ष स्थान उक्लन सफल भएको हो ।

जापानले हालसम्म ८ स्वर्ण, २ रजत र ३ कास्यसहित कूल १३ पदक प्राप्त गरेको छ । अमेरिका दोस्रो तथा चीन तेस्रो स्थानमा रहेका छन् । अमेरिकाले ७ स्वर्ण, ३ रजत र ४ कास्यसहित कूल १४ पदक प्राप्त गरेको छ भने चीनले ६ स्वर्ण, ५ रजत र ७ कास्यसहित १८ पदक प्राप्त गर्न सफल भएको छ । यस्तै ४ स्वर्ण, ५ रजत र ३ कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौँथो स्थानमा रहेको छ ।

बेलायत ३ स्वर्ण, ३ रजत र १ कास्य पदकका साथ पाँचौं स्थानमा रहेको छ । यसैगरी दक्षिण कोरिया ३ स्वर्ण र ४ कास्यसहित छैटौं, अस्ट्रेलिया २ स्वर्ण, १ रजत र ३ कास्यका साथ सातौं, कोशोभो २ स्वर्ण जित्दै आठौं, इटाली १ स्वर्ण, ३ रजत र ४ कास्यसहित नवौं तथा फ्रान्स १ स्वर्ण, २ रजत र २ कास्यका साथ पदक तालिकाको १०औं स्थानमा रहेको छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५० देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

त्यस्तै यता नेपालबाट ४ खेलमा ५ खेलाडी टोकियो ओलम्पिकमा सहभागी भएका छन् । तिमध्ये सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले खेलेका थिए । जसमा दुवै जना पराजित भएका छन् । परियारले महिला १० मिटर एयर राइफलमा तथा भट्टले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरे ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह तथा एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्न बाँकी छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नछन् । शाहले मङ्गलबार, सिंहले बुधबार तथा चौधरीले शुक्रबार आआफ्नो खेलमा प्रतिस्पर्धा गर्नछन् ।