सिमकोट (हुम्ला), २१ साउनः जिल्लामा बेरोजगारी समस्या भएपछि छिमेकी चीनको ताक्लाकोटमा काम गर्न गएका युवायुवतीले दैनिक रु पाँच हजारसम्म कमाउने गरेका छन् । छ महिनाका लागि हुम्लाका बेरोजगारहरूले रोजगारीसमेत पाउने भएकाले जिल्लाका युवा÷युवती ताक्लाकोट गएर काम गर्न आकर्षित हुँदै आएका छन् ।
हाल चीनको पुराङ काउण्टीको ताक्लाकोटमा कामका लागि गएका सिमकोट गाउँपालिका–२ का सन्दीप भण्डारीले जिल्लाका युवायुवतीको दैनिक कमाई रु पाँचदेखि छ हजारसम्म हुने गरेको बताउनुभयो । यो पारिश्रमक पाउने दक्ष कामदार रहेको उहाँले बताउनुभयो । विकास निर्माण गर्ने कामदारले यो पारिश्रमिक पाउने गर्छन् । उहाँले बिहान ८ देखि बेलुका ६ बजेसम्म काम गरेपछि सो पारिश्रमिक पाउने गरेको जानकारी दिँदै गत वर्षभन्दा यस वर्ष हुम्लाका युवायुवतीको आम्दानी राम्रो भएको जानकारी दिनुभयो ।
त्यसैगरी, घरायसी काम गर्ने कामदारले बिहान–बेलुकाको खाना खाएर नेपाली रु तीन हजार आठ सय पाउने गरेको अर्का कामदार जनक बुढाले बताउनुभयो । यो काम गर्ने नेपाली कामदारको सङ्ख्या ठूलो रहेको उहाँको भनाइ छ ।
त्यसैगरी, होटल तथा रेष्टुरेन्टमा काम गर्ने कामदारले दैनिक रु चार हजार सात सय ५० पारिश्रमिक पाउने गरेको जुम्कित लामाले बताउनुभयो । यसमा काम गर्नेमा लामा समुदायका युवायुवती छन् । खेतीपातीको काम गर्ने कामदारले भने दैनिक खाना खाएर रु दुई हजार आठ सय ५० पाउने गरेको कामदार जनक रोकायाले बताउनुभयो । उहाँले हुम्लाबाट एक हजार पाँच सय युवायुवती रोजगारीका लागि चीनको ताक्लाकोटमा आएर काम गरिरहेको बताउनुभयो । यो काम अब आगामी कात्तिक महिनासम्म उहाँहरुले गरेर जिल्ला फर्कने बताइएको छ ।