काठमाडौं : ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागीपीडितलाई प्रदेश १ सरकारले राहत प्याकेजको घोषणा गरेको छ । आगलागीमा पीडितको बस्तीमा पुगेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पीडित परिवारलाई ५० हजारका दरले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् । बिहीबार पुगेका मुख्यमन्त्री राईले राहत वितरण गर्दै पीडितका लागि थप राहत प्याकेजसमेत घोषणा गरेका हुन् ।
प्रदेश सरकारले आगलागीपीडितलाई प्रतिपरिवार ५० हजार र डेराभाडामा बस्दै आएका परिवारलाई प्रतिपरिवार ३० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए । आगलागीपीडितहरूको अवस्था बुझ्न पुगेका मुख्यमन्त्री राईले पीडितको मागअनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकरसमेत उपलब्ध गराउने जानकारी दिए ।
मुख्यमन्त्री राईले सङ्घीय सरकारसँग समन्वय गरेर पीडित परिवारलाई थप सहयोग गर्न प्रदेश सरकार लागि परेको बताए । प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई तत्कालका लागि १८ सय केजी चामल, दुई सय ५० केजी दाल, नुन, तेललगायतका खाद्यान्न र म्याट्रेस हस्तान्तरण गरे ।