साउन १२, २०७८ मंगलबार

श्रावण १२ काठमाडौं । जापानको राजधानी टोकियोमा जारी विश्व खेलकुदको कुम्भमेलाको रूपमा हेरिरहेको ३२औं गृष्मकालीन ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेन्डर गाडेगार्ड  शाह (एलेक्स)ले  राष्ट्रिय कीर्तिमान बनाएका छन्  ।

टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । उनले हिट चरणमा ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

एलेक्स आफ्नो हिट-१ मा शीर्ष स्थानमा रहे । ७ खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा रहेका थिए ।

एलेक्सले आफ्नै नामको कीर्तिमान सुधार गरेका हुन् ।  यस अघि एलेक्सको नाममा ५५.३८ सकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो । एलेक्सले राष्ट्रिय कीर्तिमान बनाएपनि सेमिफाइनलमा स्थान बनाउन सकेनन् । उनी हिट चरणबाट बाहिरिए ।

यस स्पर्धामा प्रतिस्पर्धा गरेका कुल ७१ खेलाडीमध्ये एलेक्स ५९ औं स्थानमा रहे । हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाएका छन् ।