काठमाडौं : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाकिस्तानको घरेलु महिला फुटबल लिग खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडीलाई बिदाई गरेको छ ।
बिहीबार एन्फाले पाकिस्तान जान लागेका एन्जिला तुम्बाप्पो, सरु लिम्बू, गीता राना र अनिता केसीलाई बिदाइ गरेको हो ।
पाकिस्तान फुटबल फेडेरेशन (पिएफएफ) ले आयोजना गर्ने लिगमा नेपालबाट छनोट भएका उनीहरू शुक्रबार साँझ दुबई हुँदै कराँची जाँदैछन् । बिहीबार मात्र उनीहरूको भिसा आएको थियो । ४ खेलाडीले मासा युनाइटेड फुटबल क्लबबाट खेल्ने छन् ।
उनिहरु चारै खेलाडी शस्त्र प्रहरी बलको एपिएफ क्लबमा आबद्ध छन् । उनीहरूले हालै सम्पन्न राष्ट्रिय महिला लिगको उपाधि जिताएका थिए । चारै जना पहिलो पटक विदेशी लिग खेल्न जान लागेका हुन् । यसअघि स्ट्राइकर सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेतले भारतीय लिग खेलेका थिए ।