भदौ ३१, २०८१ सोमबार

काठमाडौँ, ३१ भदौ : वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ । चलचित्रको हालै सार्वजनिक ‘फर्स्ट लुक  लुक’ र ‘टिजर’ले दर्शकबीच  उत्सुकता बढाएको थियो ।

    गायक निशान भट्टराई र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको पहिलो गीत ‘कसम बत्तीको’ सार्वजनिक भएसँगै चलचित्रको चर्चा थप चुलिएको हो । फूलपातीको अवसर पारेर आगामी असोज २४ गते रिलिज हुन लागेको ‘ज्वाइँ साब’को यो गीतले चलचित्रलाई थप उचाइमा पु-याएको निर्देशक वसन्त निरौलाले बताउनुभयो । “पोस्टर र टिजरले चलचित्रको ‘हाइप क्रिएट’ गरेको थियो,” उहाँले भन्नुभयो, “यो गीत आएपछि हाइप झन् बढेको छ । अहिले विदेशबाट समेत चलचित्रको माग आइरहेको छ ।” उहाँले  विदेशमा र स्वदेशमा चलचित्र एकै दिन रिलिज गर्ने तयारी गरिरहेको बताउनुभयो । 

    चलचित्रको कथा रोचक र नयाँपनले भरिपूर्ण भएकाले यसपटकको दसैँको रौनकलाई थप उत्साहपूर्ण बनाउने विश्वास निर्माण पक्षको छ । चलचित्रले दर्शकलाई फरक अनुभव दिने निर्देशक निरौलाले बताउनुभयो । ‘ज्वाइँ साब’ चलचित्र रेड आई फिल्म्सको प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा निर्माण भएको हो । 

    यस चलचित्रमा जितु नेपाल र नीति शाहले मुख्य भूमिका निर्वाह गर्नुभएको छ । बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य, राजकुमार पण्डित, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारहरूको यस चलचित्रमा अभिनय रहेको छ । 

    चलचित्रका कार्यकारी निर्माता विजय बस्याल र अन्य निर्मातामा मिनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ रहनुभएको छ । संगीत अर्जुन पोखरेल र महेश ताम्राकारको छ । द्वन्द्व निर्देशन सञ्जय थापाले गर्नुभएको छ भने छायाङ्कन श्याम तामाङले गर्नुभएको हो । चलचित्रको सम्पादन सन्देश शाहले गर्नुभएको छ ।