काठमाडौ : राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा काठमाडौंमा आगामी चैत तेस्रो साताबाट सुरु हुने पाँचौँ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको विजेताले नगद ३ लाख रुपैयाँ पाप्त गर्ने भएका छन् । प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म चल्नेछ ।
नेपाल भलिबल सङ्घले बिहीबार पत्रकार सम्मेलन गर्दै चैतमा आयोजना हुने लिगको महिला र पुरुष विजेताले ३ लाख पाउने बताएको हो ।
राष्ट्रिय वाणिज्य बैकसँगको सहकार्यपछि नयाँ संस्करणको प्रतियोगिताका लागि पुरस्कार राशीमा वृद्धि गरिएको छ । यसअघिको संस्करणका विजेताले २ लाख ५० हजार पाएका थिए । यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौथोले ३७ हजार ५ सय पाउने सङ्घले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउने छन् ।
मुख्य प्रायोजकबापत बैँकले सङ्घलाई १२ लाख उपलब्ध गराउने छ । प्रतियोगितामा पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, होङग्वान्जी न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद प्रतिस्पर्धा गर्ने छन् ।
यस्तै पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, बुद्धटोल भलिबल टिम, नयाँ बजार, मणिमुकुन्दले प्रतिस्पर्धा गर्ने छन् । लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ गरी कुल ४३ खेल हुनेछ । लिगको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।